“यो चलचित्र किन्नर समुदायभित्र रहेका पात्रहरूको कथा हो, तर तेस्रोलिंगी पात्रहरू धेरै भएको फिल्म भनेर बुझ्यौं भने फिल्मको कथा र अर्थ अलि साँघुरो भइदिन्छ,” निर्माता अनुप पौडेल भन्छन्, “केन्द्रमा पिरती छिन्, जो किन्नर समुदायकी एक महिला हुन्। उनी आफ्नो समुदाय, आफ्नी छोरी र आफूले चाहेको जीवनबीच संघर्ष गरिरहेकी छिन्।”
तेस्रोलिंगीको मात्रै सिनेमा हो भनेर अर्थ लगाए अरु पात्र, संघर्ष र जीवन ओझेलमा पर्ने उनको भनाइ छ। “हो, किन्नर समुदायको हुनु, अथवा लैंगिक अल्पसंख्यक समुदायको हुनु, पिरतीको पहिचानको एउटा ठूलो पाटो हो । तर हामीले पिरती, हाम्रा बाँकी पात्र र कलाकारहरूको अनुभव र जीवनलाई त्यतिमै सीमित राख्न खोज्यौं भने हाम्रो फिल्मले भन्न खोजेको कुरा नै हराउँछ,” अनुप अगाडि थप्छन्, “मूलतः हाम्रो फिल्म एउटी आमा र छोरीको सम्बन्धको कथा हो । एउटी आमाले आफ्नी हराएकी छोरीलाई खोज्न के गर्छिन्, कहाँ–कहाँसम्म पुग्न सक्छिन् भन्ने कथा हो ।”
‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ले रोजेको परिवारको कुरा गर्ने निर्माता पौडेल बताउँछन्। सिनेमाले नाता र सम्बन्धहरू केलाउने र समाजले बनाएका सीमाहरू प्रेम र मातृत्वको कुरा गर्ने उनले प्रस्ट पारेका छन्। आमाको भावना, सम्बन्ध र संघर्ष कुनै एउटा लैंगिक समुदायमा मात्र सीमित नहुनेमा सबैलाई प्रस्ट हुन उनको आग्रह छ।
“किन्नर समुदाय फिल्मको अत्यन्त महत्वपूर्ण हिस्सा हो, तर कथा त्यतिमै सीमित छैन,” उनी प्रस्ट पार्दै भन्छन्, “हाम्रा मुख्य पात्रहरू उक्त समुदायबाट हुनुहुन्छ, तर फिल्ममा अन्य समुदाय र पृष्ठभूमिका कलाकारहरू पनि प्रशस्त हुनुहुन्छ ।”
कान्सलगायत विश्वका ठूला इन्टरनेसनल फिल्म फेस्टिभलको फन्को लगाएर नेपाल रिलिजको तयारीमा रहेको चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ लाई अविनाश विक्रम शाहले निर्देशन गरेका छन्। निर्देशक शाहको नै पटकथा रहेको चलचित्रमा अविनाश विक्रम शाह र सन्दीप बादलको कथा छ।
कान्समा जुरी च्वाइस अवार्ड पाएसँगै यो सिनेमा घरेलु दर्शकमाझ पनि प्रतिक्षित बनेको छ। जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा भनेको यस चलचित्रमा अभिनेत्री गौरी मल्ल,माओत्से गुरुङ,पुष्पा थिङ लामा,दीपिका यादव, जस्मिन विश्वकर्मा,एलिज घिमिरे, महिमा नवबाग,आकांक्षा कार्कीलगायतको अभिनय छ।
चलचित्र नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा निर्माण गरिएको हो। यस चलचित्र निर्मातामा नेपालबाट अनुप पौडेल फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स रहेको छन्। सह–निर्मातामा प्रचण्डमान श्रेष्ठ, ब्रजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की,पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल रहेका छन्।
चाल्र्स अडिनेट लाइन प्रोड्यूसर रहेको चलचित्रका एशोसिएट निर्माता नायिका केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी छन्। अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट सह–निर्मातामा प्रवेश गुरुङ, एशोसिएट निर्माताआदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई, बेन्जामिन ग्रुब्स छन्।