पोखरा,
पोखराको सल्युट गोर्खा ट्रेनिङ सेन्टर प्रालिले बेलायती सेना तथा सिंगापुर प्रहरीको भर्ती प्रक्रियाको फेज–टुमा छनोट भएका १०७ जना प्रशिक्षार्थीलाई बिदाइ तथा शुभकामना दिएको छ।
शुक्रबार आयोजित कार्यक्रममा वक्ताहरूले भर्तीमा सफलता हासिल गर्नु महत्वपूर्ण भए पनि त्यसलाई मात्र भविष्यको आधार नबनाउन प्रशिक्षार्थीलाई सुझाव दिए। उनीहरूले भर्तीको तयारीसँगै शिक्षा र अन्य करियरका सम्भावनालाई पनि निरन्तरता दिनुपर्नेमा जोड दिए।
कार्यक्रमका प्रमुख अतिथि गोसेली ग्रुप तथा गोसेली प्रिन्ट प्याकका अध्यक्ष सुशीलकुमार गोसेलीले आफ्नै प्रशिक्षण मैदान, होस्टेल, जिम तथा दक्ष प्रशिक्षकमार्फत सल्युट गोर्खाले व्यवस्थित प्रशिक्षण दिइरहेको बताए। १८ वर्षदेखि भर्ती तयारी गराउँदै आएको संस्थाले भर्ती क्षेत्रमा देखिएका विकृतिविरुद्ध पनि भूमिका खेलिरहेको उनको भनाइ थियो।
‘भाग्यमा छ भन्दैमा डोकोमा दूध अडिँदैन’ भन्दै गोसेलीले सफलता भाग्यभन्दा निरन्तर कर्म र मेहनतबाट प्राप्त हुने बताए।
सल्युट गोर्खाका संस्थापक अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत राहुल पाण्डेले भर्ती प्रक्रिया निष्पक्ष र पारदर्शी बनाउन संस्था प्रतिबद्ध रहेको बताए। भर्तीका नाममा कुनै आर्थिक चलखेल नहुने भन्दै उनले प्रशिक्षार्थी तथा अभिभावकलाई गलत आश्वासन र भ्रममा नपर्न आग्रह गरे।
‘भर्ती सँगै भविष्य’को अवधारणासहित अघि बढेको संस्थाले भर्तीमा सफल हुन नसक्ने युवालाई समेत रोजगारी र करियरसँग जोड्ने उद्देश्यले गोर्खा गार्ड सेक्युरिटी सर्भिसेस सञ्चालनमा ल्याएको पाण्डेले जानकारी दिए। उनका अनुसार भर्तीमा असफलता आए पनि युवाले निराश हुनुपर्ने अवस्था छैन।
कार्यक्रममा पूर्व ब्रिटिश आर्मी बलराम गुरुङ, नेपाली सेनाका मेजर हुमानसिंह कुँवर, पूर्व भारतीय सेना सुवेदार मेजर हनरी क्याप्टेन यमबहादुर गुरुङ, क्याप्टेन शोभितबहादुर खवास र क्याप्टेन तिलक कनुवारलगायतले प्रशिक्षार्थीलाई शुभकामना दिए।
वक्ताहरूले अहिले विदेश जाने अवसरका क्षेत्र फराकिलो भएकाले भर्तीमा सफलता नपाए पनि अन्य सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिए। पोखरा महानगरपालिका–१३ का निवर्तमान अध्यक्ष एवं समाजसेवी दर्शन लामाले दृढ इच्छाशक्ति र निरन्तर प्रयासले असम्भवजस्तो देखिने काम पनि सम्भव हुने उदाहरण प्रस्तुत गरे।
मानव सेवा आश्रमकी संस्थापक अभिभावक एवं समाजसेवी सुस्मा पौडेलले सकारात्मक सोच, दृढ संकल्प र निरन्तर परिश्रमले युवालाई सफलतातर्फ लैजाने बताइन्।
कार्यक्रममा सल्युट गोर्खाले तालिममा सहभागी प्रशिक्षार्थीसँगै आसपासका सूर्योदय र सूर्यमुखी टोललाई समेटेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारीसमेत दिइयो। युआरएलका अध्यक्ष ठाकुर पन्त र प्रबन्ध निर्देशक गणेश कोइरालाले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य शिविरलगायतका गतिविधिलाई निरन्तरता दिने बताए।
कार्यक्रममा सांस्कृतिक तथा खुकुरी नृत्य, सम्मान तथा पुरस्कार वितरणसमेत गरिएको थियो। उत्कृष्ट प्रशिक्षार्थी र खेलकुदका विजेतालाई पुरस्कार प्रदान गरिएको कार्यक्रममा प्रशिक्षार्थी, अभिभावक, टोल विकास संस्थाका प्रतिनिधि, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो।
कार्यक्रमको सञ्चालन सल्युट गोर्खाका प्रबन्ध निर्देशक इन्जिनियर सागर गौतमले गरेका थिए भने स्वागत पूर्व भारतीय सेना तथा एपीटीसीका हनरी क्याप्टेन एवं संस्थाका प्रमुख तालिम प्रशिक्षक कृष्णबहादुर आलेले गरेका थिए।