सुचना, समाचार र मनोरन्जन

पोखरा–४ गणेशमान चोकमा मौलिक फल्चा निर्माण हुँदै, भूमिपूजा तथा शिलान्यास सम्पन्न

पोखरा,

पोखरा महानगरपालिका–४ को गणेशमान चोकस्थित नालामुख क्षेत्रमा मौलिक शैलीको फल्चा निर्माण हुने भएको छ। फल्चा निर्माणको शुभारम्भ गर्दै आज भूमिपूजा तथा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।

पोखरा–४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीको सक्रिय पहल तथा नेतृत्वमा निर्माण अघि बढाउन लागिएको फल्चाले स्थानीय मौलिकता, संस्कृति र पहिचानलाई संरक्षण गर्दै सार्वजनिक स्थानलाई थप आकर्षक र उपयोगी बनाउने अपेक्षा गरिएको छ।
भूमिपूजा तथा शिलान्यास कार्यक्रममा वडा अध्यक्ष पराजुलीले आफ्नै हातबाट पूजाआजा गरी निर्माण कार्यको औपचारिक सुरुवात गरेका हुन्। उनले विकास निर्माणसँगै स्थानीय कला, संस्कृति र मौलिक सम्पदाको संरक्षणलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए।

गणेशमान चोक नालामुख क्षेत्र पोखराको महत्वपूर्ण सार्वजनिक तथा आवागमन क्षेत्र भएकाले यहाँ निर्माण हुने फल्चाले स्थानीयवासी तथा पैदलयात्रीका लागि विश्राम गर्ने स्थानका रूपमा समेत उपयोगी हुने विश्वास गरिएको छ।

मौलिक वास्तुकला र स्थानीय पहिचान झल्किने गरी निर्माण गरिने फल्चाले क्षेत्रको सौन्दर्य बढाउनुका साथै पोखराको सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।

वडा अध्यक्ष पराजुलीले वडा नं. ४ को विकासलाई भौतिक पूर्वाधारसँगै सांस्कृतिक संरक्षण, सार्वजनिक सुविधा र व्यवस्थित शहरी सौन्दर्यसँग जोडेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन ।

Leave A Reply

Your email address will not be published.