सुचना, समाचार र मनोरन्जन

फेवाताल संरक्षण अभियान अन्तर्गत बृहत् सफाइ कार्यक्रम सम्पन्न

पोखरा,

फेवाताल संरक्षण अभियानअन्तर्गत हरेक महिना सञ्चालन हुँदै आएको बृहत् सफाइ कार्यक्रम यसपटक पोखरा १८  खपौंदी सँगैको प्याराग्लाडिङ ल्यान्डिङ जोन क्षेत्रमा सफलतापूर्वक सम्पन्न भएको छ।

सफा र सुन्दर फेवाताल निर्माण गर्ने उद्देश्यले मंगलबार आयोजना गरिएको कार्यक्रममा स्थानीय सरोकारवाला निकाय, विभिन्न संघ–संस्था तथा समुदायको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा प्रत्यक्ष उपस्थित भई ऐक्यबद्धता जनाउँदै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसहित उच्चपदस्थ राष्ट्रसेवक कर्मचारीहरू सहभागी भएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर आचार्यले फेवाताल संरक्षण पोखराको पहिचान र पर्यटनसँग जोडिएको महत्वपूर्ण विषय भएको बताउँदै यसको दीगो संरक्षणमा सबैको साझा जिम्मेवारी आवश्यक रहेको उल्लेख गरेका छन । भने हरेक महिना सरसफाई अभियान चलाएर फेवाताल सफा राख्न विशेष भुमिका निर्वाह गरेकोमा आयोजकप्रति कृतज्ञता व्यक्त गरे ।

त्यसैगरी, जलारी समूह, नेपाल हवाई स्पोर्ट्स संस्था, प्याराग्लाइडिङ पाइलट क्लब, कर्म फ्लाइट्स, राइजिङ स्टार युथ क्लब रिठेपानी (पोखरा–२७ लेखनाथ), महिला सञ्जाल वैदाम, WOTEF, नगर प्रहरी तथा सरसफाइ शाखा लगायत विभिन्न संघ–संस्थामा आबद्ध दिदीबहिनी तथा दाजुभाइहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममार्फत फेवाताल आसपासका क्षेत्रमा फोहोर संकलन, व्यवस्थापन तथा सरसफाइ गरिएको थियो। वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनमा यस्ता अभियानले सकारात्मक सन्देश दिने सरसफाई अभियान्ता राम बहादुर पौडेलले विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आयोजकले हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Leave A Reply

Your email address will not be published.