काठमाडौं :
हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र विकास बोर्डको हलमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।
झन्डै ३ मिनेट लामो ट्रेलरले फिल्म गाउँघरमै बसेर विभिन्न पेशा अंगालेका ४ युवकहरुको जीवनमा एक युवतीको आगमनपछि उत्पन्न परिस्थितिलाई हास्य शैलीमा प्रस्तुत गरिएको देखाइएको छ।साथै ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ। ट्रेलर हेर्दा फिल्मले हररमा पनि नयाँ स्वाद दिने अनुमान गर्न सकिन्छ। माघ ४ गतेबाट प्रदर्शनमा आउने यस फिल्मलाई नविन भट्टले निर्देशन गरेका हुन्। ट्रेलर रिलिज कार्यक्रममा बोल्दै निर्माता तथा कलाकार मनोज अधिकारीले चलचित्र फरक कथा बस्तुमा र नौलो शैलीमा निर्माण गरिएको बताए।
फिल्ममा सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना केसी, पिटर प्रिन्स, मनोजकुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतको अभिनय छ। निर्देशक भट्ट र सन्दीप श्रेष्ठले फिल्मको स्क्रिप्ट मिलेर लेखेका हुन्। ‘आज साइकल, भोलि फरारी’ ट्यागलाइन दिइएको फिल्मले दर्शकलाई नयाँ स्वाद दिने छनक ट्रेलरले देखाउँछ ।
मनोजकुमार अधिकारी फिल्मका निर्माता हुन्। फिल्ममा जितु तामाङको छायाङ्कन, केशवराज भट्टको कोरियोग्राफी, प्रशान्त शिवाकोटीको संगीत तथा अनन्त घिमिरेको सम्पादन रहेको फिल्म बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण भएको हो। फिल्मलाई देशभर आरआर फिल्मस्ले वितरण गर्दैछ। फिल्मको डिजिटल अधिकार म्युजिक नेपालले खरिद गरेको छ।
तस्विर : सुरेन्द्र थापा