काठमाडौं :
बैशाख १२ अर्थात यही शुक्रवार रिलिज हुने नेपाली फिल्म ‘खेल’को ग्रान्ड प्रिमियर शो सम्पन्न भएको छ। बुधवार साँझ छाया सेन्टरस्थित क्युएफएक्स सिनेमा हलमा आयोजित प्रिमियरमा निर्माणको टिम, पत्रकारहरू, शुभचिन्तक तथा फिल्मकर्मीहरुको उपस्थितिमा फिल्म हेरिएको हो।
प्रिमियरमा ‘खेल’का प्रमुख कलाकारहरू सुरक्षा पन्त, हेना नगरकोटी, मोनिका थापा, निकिता आचार्य, समापिका गौतम लगायतको उपस्थिति रह्यो। प्रिमियरकै लागि भारतबाट यसका निर्देशक अनुराग प्रधान उपस्थित रहे भने अर्की निर्देशक आस्था श्रेष्ठसहित निर्माण टिम सहभागी रह्यो। प्रिमियरमा निर्देशक प्रधानले आफूले बलिउडमा सिकेको ज्ञान नेपाली फिल्ममा लगाएको बताए।
अभिनेत्री सुरक्षा पन्तले युवाहरूले सच्चा मनले बताएको यो फिल्म सफल हुनेमा विश्वास व्यक्त गरिन्। उनी चलचित्रले प्राप्त गरेको प्रतिक्रियाले आफू र ुखेलु टिम पुलकित भएको बताइन्। मिथिकल सस्पेन्स थ्रीलर जनराको ुखेलुलाई हलिउड फिल्मको स्तरसँग तुलना गर्दै यसको कथा, पटकथा, संवाद, छायाङ्कन, सम्पादन, कलर र फिल्मको टोनको प्रशंसा भएको छ। प्रिमियरमा सुरक्षासहित अन्य नयाँ कलाकारहरूको अभिनयको पनि प्रशंसा भएको थियो। साथै, नेपाली मिथक, रहस्य र आधुनिक मनोविज्ञानलाई सशक्त रूपमा प्रस्तुत गरेको प्रतिक्रिया फिल्मले प्राप्त गर्यो।
मिथिला शर्मा, भोलाराज सापकोटा, सरिता गिरी, किरण श्रेष्ठ लगायतको समेत अभिनय रहेको ‘खेल’ लाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका छन्। चलचित्र सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो, जसका निर्माताहरू लुइसराज महर्जन र आशिषराज महर्जन हुन् भने सह(निर्माताहरू कुणालराज गुरुङ र रहिशराज महर्जन रहेका छन्। फिल्मको कथा आशिषराज महर्जनले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका छन्।
फिल्मको छायाङ्कन रोशन राई र सञ्जय लामाले गरेका छन् भने सम्पादन आशिषराज महर्जनले गरेका छन्। ध्वनि डिजाइन विकल प्रधान, रङ्ग संयोजन राजेन्द्र मोक्तान, प्रोडक्सन डिजाइन किशोर नेपाल, कस्ट्युम डिजाइन एलेक्स बसुकला, मेकअप दिपु पौडेलले गरेका छन्। प्रोडक्सन म्यानेजरको जिम्मेवारी यमप्रसाद ओलीले सम्हालेका छन् भने फिल्मको वितरण डिसिएनले गर्ने जिम्मेवारी लिएको छ।