काठमाडौं :
कोभिड १९ को समयमा नेपालमा थुप्रै फिल्महरु बन्द भए। हलमा दर्शक नआउने र आए पनि थोरै दर्शकले हल सञ्चालमा कठिन भएपछि एक दर्जन भन्दा बढि हल बन्द हुन पुगेका थिए। कोभिडको अन्त्यसँथै अब फेरि हलहरु धमाधम देशका विभिन्न स्थानमा खुल्न थालेका छन्।
शुक्रबार (आज)बाट बुटवलमा नयाँ हल–फ्रेन्डस् सिनेमाज् औपचारिक रुपमा संचालनमा आएको छ। २२२ सिट क्षमताको यो हल अमरपथस्थित सिंह कम्प्लेक्समा छ। धरानको चर्चित फ्रेन्डस् सिनेमाज्को फ्रेन्चाइज्को रुपमा ल्याईएको यो हल रोयल सिने हब प्रालिले संचालन गरेको हो।

तीन युवा,जो हाल फिल्म वितरणमा समेत समेत सक्रिय र सफल रहेका आशिष तामाङ,प्रदिप धामी र पुष्कर घिमीरेले फ्रेन्डस् सिनेमाज्को ब्राण्ड बिस्तार गर्ने क्रममा बुटवलमा पनि हल संचालन गरेका हुन्। आफुहरुले नयाँ व्यवस्थापन,अत्याधुनिक प्रविधि तथा दर्शकलाई सेवासुविधा र सहुलियत सहित हल हल संचालनमा ल्याएको जानकारी संचालक मध्येका एक आशिष तामाङले दिए । उनले हल खोलेको उपलक्ष्यमा पहिलो साताभरि टिकट दर रु १५० राखीएको बताए।
विहानी शो, मंगलबार र बुधबारका शोका टिकट दर भने अन्य दिनका भन्दा कम हुने जनाइएको छ। दैनीक ६ शोसम्म चलाउन सकिने भ्यु सिनेमाज् अब फ्रेन्डस् सिनेमाज्का रुपमा आएको छ । हलमा नेपाली फिल्मलाई नै प्राथमीकता दिने दावी संचालक टिमको छ।
हल संचालनसँगै फिल्म बितरणमा समेत छोटो समयमै आफूलाई स्थापीत गरिरहेको यो टिमले कुवेर सिने डिस्टिब्युसनमार्फत हालसम्म ‘फर्की फर्की’, ‘कुश्मा’ र ‘१२ गाउँ’ जस्ता हिट फिल्म वितरण गरिसकेको छ भने अब ‘उनको स्वीटर’,‘बलिदान’,‘रेशम फिरिरी’ लगायतका फिल्म दर्शकमाझ ल्याउदैछ। फिल्म वितरणसँगै भविष्यमा फिल्म निर्माण अनि देशका अन्य स्थानमा फ्रेन्डस सिनेमाज् बिस्तार गर्ने योजना टिमको छ।