सुचना, समाचार र मनोरन्जन

फिल्म ‘बाटो : रोड टु डेथ’ एमाजन प्राइम भिडियो, ट्युबीसहित विभिन्न ओटिटीमा रिलिज

काठमाडौं :

नोपली फिल्महरुले विदेशी ओटीटी प्लेटफर्ममा फिल्म प्रदर्शन हुनुलाई ठुलै कुरा मानिन्छ। नेपाली चलचित्र क्षेत्रको विकास र अन्तर्राष्ट्रियकरणमा काठमाडौं फिल्म्सले अर्को कदम चालेको छ। आफ्नो उत्कृष्ट प्रोजेक्टहरू मार्फत विश्वभर नेपाली कथाहरू पुर्‍याउने लक्ष्यसहित अगाडि बढिरहेको यो कम्पनीले हालै आफ्नो फिल्म ‘बाटो : रोड टु डेथ’लाई विश्वका प्रमुख स्ट्रिमिङ प्लेटफर्महरूमा उपलब्ध गराएको छ। यो चलचित्र नेपालमा गत जेठ ३२ गते रिलिज भएको थियो।

यो फिल्म ‘एमाजन प्राइम भिडियो, ‘ट्युबी,’ र ‘बुक माई शो स्ट्रिम’ मा स्ट्रिमिङ सुरु भएको हो । ‘एमाजन प्राइम भिडियो’मा युरोप र अमेरिकाका दर्शकहरूको लागि उपलब्ध छ भने निःशुल्क स्ट्रिमिङ सेवा प्रदान गर्ने ‘ट्युबी’मा पनि युरोप र अमेरिकामा यो चलचित्र स्ट्रिमिङ भइरहेको छ। त्यस्तै, दक्षिण एसियामा लोकप्रिय प्लेटफर्म ‘बुक माई शो स्ट्रिम’बाट भारतमा नेपाली भाषामा अङ्ग्रेजी सबटाइटल सहित स्ट्रिमिङ भइरहेको छ ।

साथै, ‘फ्युचर टिभी’ लगायतका अन्य ओटिटीहरुमा विश्वव्यापी दर्शकहरूको लागि चाँडै यो प्लेटफर्ममा फिल्म उपलब्ध हुने ‘बाटो : रोड टु डेथ’का निर्माता तथा काठमाडौं फिल्मस्मा सञ्चालक चन्दन झाले बताए। यस चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा लैजान माउन्टेन रिभर फिल्म्सले प्रतिनिधि भूमिका निभाएको निर्माता झाले बताए। काठमाडौं फिल्म्सले निकट भविष्यमा लगातार नेपाली चलचित्रहरू बनाउने र विश्वव्यापी वितरण योजनाहरूमा काम गरिरहेको उनले बताए।

काठमाडौं फिल्मसको ब्यानरमा चन्दन झाले निर्माण गरेको ‘बाटोस् रोड टु डेथ’का निर्देशक, लेखक तथा सम्पादक मदन थापा हुन्। दक्षिण भारतीय चलचित्र उद्योगको अनुभवलाई लिएर नेपाली चलचित्र बनाएका मदनले यस चलचित्रमा अब्बल काम देखाएका छन् । यस चलचित्रमा मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, राजेन थापा, आभास अधिकारी, किरण शाही, गणेश उपाध्याय लगायतको अभिनय रहेको छ।

Leave A Reply

Your email address will not be published.