काठमाडौं,
दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबईको विमानले उडानका क्रममा आपत्कालीन संकेत पठाएपछि साउदी अरबको तबुक विमानस्थलमा अवतरण गरेको छ । विमानमा अपहरण भएको आशंका गरिए पनि पछि त्यसलाई अस्वीकार गरिएको द टाइम्स अफ इजरायलले जनाएको छ ।
इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै उक्त सञ्चारमाध्यमले विमानमा रहेका पाइलटबीच भएको विवादका कारण घटना भएको हुनसक्ने जनाएको छ । उडानका क्रममा विमानले सुरुमा अन्तर्राष्ट्रिय आपत्कालीन संकेत ‘स्क्वाक कोड ७७००’ पठाएको थियो । त्यसपछि विमानबाट ‘७५००’ संकेत पठाइएको थियो । उक्त संकेत विमान अपहरण वा गैरकानुनी हस्तक्षेप भएको अवस्थामा प्रयोग गरिन्छ ।
७५०० संकेत प्राप्त भएपछि इजरायली वायुसेनाका लडाकु विमानहरू उक्त विमानतर्फ पठाइएको इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । करिब १८० यात्रु सवार विमान साउदी अरबको आकाशमा पुगेपछि आफ्नो मार्ग परिवर्तन गरी तबुक विमानस्थलतर्फ गएको थियो । त्यसपछि विमानलाई तबुक विमानस्थलनजिकै ट्र्याक गरिएको र अन्ततः त्यहीँ अवतरण गरिएको थियो ।
्इजरायली सेनाका अनुसार घटनाबारे सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमिरले वरिष्ठ अधिकारीहरूसँग छलफल गरेका थिए । छलफलमा इजरायली वायुसेना प्रमुख मेजर जनरल ओमेर टिस्लर, अपरेसन निर्देशनालय प्रमुख मेजर जनरल इट्जिक कोहेन र इन्टेलिजेन्स निर्देशनालय प्रमुख मेजर जनरल श्लोमी बिन्डर सहभागी थिए । यसअघि इजरायली सुरक्षा अधिकारीहरूले विमान साउदी अरबमा अवतरण गरेपछि मात्रै घटनाबारे स्पष्ट जानकारी प्राप्त हुने बताएका थिए । आपत्कालीन संकेत पठाएपछि केही समय विमान उडान ट्र्याकिङ वेबसाइटबाट समेत हराएको थियो ।
इजरायली सञ्चारमाध्यमहरूले घटनाका क्रममा प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षामन्त्री इजरायल काट्जले आकस्मिक छलफल गरेको जनाएका छन् । यसैबीच, इजरायली प्रधानमन्त्री नेतन्याहुले निर्वाचनअघि इजरायलका विरोधीहरूले आक्रमणको प्रयास गर्न सक्ने संकेत प्राप्त भएको बताएका छन् । तेल नोफस्थित इजरायली वायुसेनामा बोल्दै उनले त्यस्तो प्रयास नगर्न चेतावनी दिँदै इजरायलको सैन्य क्षमता आवश्यक परे जहाँसुकै र जुनसुकै समयमा प्रयोग हुनसक्ने बताएका थिए ।
उक्त घटनाबारे प्रारम्भिक विवरणमा विमानमा पाइलटबीचको विवादलाई सम्भावित कारणका रूपमा उल्लेख गरिएको भए पनि घटनाको पूर्ण विवरण सम्बन्धित अधिकारीहरूको थप अनुसन्धानपछि स्पष्ट हुने बताइएको छ ।