स्याङ्जा,
केही वर्ष अघिसम्म विशेषगरी तिहारमा प्रयोग हुने सयपत्री फूल तथा माला अन्यत्रबाट ल्याउनुपर्ने बाध्यता थियो । फूल तथा माला खरिद गर्दा हुने आर्थिक पलायन पछिल्ला वर्षहरुमा जिल्लाभित्रै रहने गरेको छ । ठूला–ठूला सभासमारोह, धार्मिक कार्यहरु, विवाहलगायतमा प्रयोग गर्नका लागि जिल्ला बाहिरबाट फूल तथा माला ल्याउनुपर्ने बाध्यता पछिल्ला वर्षहरुमा न्यूनीकरण हुँदै गइरहेको छ ।
पछिल्ला वर्षहरुमा जिल्लाभित्रका विभिन्न स्थानमा सयपत्री फूलको व्यावसायिक उत्पादन थालिएसँगै फूल तथा माला बिक्रीबाट जिल्लामा आर्थिक उपार्जन गर्ने कृषकहरुको सङ्ख्या बढ्दै गएको छ । छोटो अवधि एकै यामबाट राम्रो आम्दानी हुने र बजारमा माग अत्याधिक हुँदा बजारीकरणको समस्या नहुने भएकाले पनि पछिल्लो समय यहाँका कृषकहरु यतातिर आकर्षिक भएका हुन् ।
कालीगण्डकी गाउँपालिकाले यहाँका कृषकहरुलाई फूलखेतीको सम्भावनाका बारेमा जानकारी दिने र फूलखेतीतर्फ आकर्षित गर्ने उद्देश्यसहित व्यावसायिकरुपमा फूलखेती गरेको थियो । पालिकाले थालेको फूलखेतीबाट उत्पादन तथा आम्दानी राम्रो भएपछि यहाँका कृषकहरु ह्वात्तै यसतर्फ आकर्षित भएका हुन् । अहिले गाउँपालिकाका कृषकले ठूलो परिमाणमा व्यावसायिक फूलखेती गरेका छन् ।
कृषकहरुले दसैँ तथा तिहारको अवधिमा मात्रै फूल तथा माला बिक्री गरेर लाखौँ आम्दानी गर्न सफल भएका छन् । गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलका अनुसार दसैँ, तिहारको अवधिमा सयपत्री फूलका थुङ्गा तथा माला बिक्री गरेर रु १६ लाख २० हजार आम्दानी गरेका हुन् ।
दसैँ तथा तिहारमा फूल तथा माला बिक्रीबाट राम्रो आम्दानी गरेका कृषकहरुका बारीमा अझै पनि टन्नै फूलहरु फुलिरहेका छन् । असारमा दुई चरणमा लगाएका फूलहरुको उत्पादन पनि दसैँ, तिहार लक्षित गरेर हुने गरेको छ । दोस्रो चरणमा लगाएका फूलहरुको उत्पादन मङ्सिरको अन्तिमसम्म लिन सकिने कृषि अधिकृत पौडेलले बताए ।
कालीगण्डकीसहित जिल्लाभरका कृषकहरुले गत वर्षभन्दा यस वर्ष फूल बिक्रीबाट आम्दानी पनि वृद्धि गरेका हुन् । कालीगण्डकीका कृषकहरुले सयपत्री फूल बिक्रीबाट गतवर्ष मात्रै रु १५ लाख आम्दानी गरेका थिए । बारीमा अझै पनि फूल फुलिरहेकाले आम्दानी पनि स्वतः वृद्धि हुने कुषि अधिकृत पौडेल बताउनुहुन्छ ।
कालीगण्डकी गाउँपालिकाअन्तर्गत विभिन्न वडाका २२ जना कृषकले व्यावसायिकरुपमा सयपत्री फूलखेती गर्दै आएका छन् । बाइस जनाले ३० रोपनीभन्दा धेरै क्षेत्रफलमा सयपत्री फूलखेती गरेका हुन् । गाउँपालिकाले कृषकहरुलाई सयपत्री फूलखेतीतर्फ आकर्षित गर्नका लागि प्रोत्साहनस्वरुप फूलको बीउ तथा अनुदान रकम उपलब्ध गराएको थियो । गाउँपालिकाभित्रका सामुदायिक घरबास ९होमस्टे० हरुमा पाहुनाहरुको स्वागत सत्कारका लागि प्रयोग गर्ने गरी फूल लगाउने अभियान अगाडि बढाइएको थियो ।
कालीगण्डकी गाउँपालिका–३ लसर्घा देउरालीका रेमनसिंह सोमैले तीन रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा सयपत्री फूलखेती गरेका छन । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा उहाँले ‘कर्मा ५५५’ र कलकत्ते जातको सयपत्री फूल खेती गरेका हुन । गतवर्ष परीक्षणको रुपमा लगाएको फूलखेतीबाट राम्रो आम्दानी भएपछि यस वर्ष थप विस्तार गरेर खेती गरेको उनले बताए । “गत वर्ष साढे दुई रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेको थिएँ” उनले भने, “बजारमा फूलको माग अत्याधिक भई खपत भएकाले यस वर्ष पनि थप विस्तार गरी फूलखेती गरेको हुँ ।”
गत वर्ष साढे दुई रोपनी क्षेत्रफलमा फूलखेती गर्नुभएका उनले यस वर्ष तीन रोपनी क्षेत्रफलमा झण्डै दुई हजार फूलका बेर्ना लगाउनुभएको हो । यहाँ उत्पादन भएको फूल गाउँपालिकाले बजारीकरणको व्यवस्थासमेत गरिदिएकाले बजारको कुनै समस्या नभएको हो । कालीगण्डकी गाउँपालिका र हेफर इन्टरनेशनलको साझेदारीमा फूलको न्यूनतम् मूल्य निर्धारण गरिएको हो । “यहाँ उत्पादन भएको फूल थोकमा प्रतिकेजी रु. तीन सय र फुटकरमा रु ३५० का दरले बिक्री गर्छौं”, उहाँले भन्नुभयो, “दुई चरणमा लगाएको फूलमध्ये पहिलो चरणअर्थात् असारमा लगाएको फूल बिक्री भइसकेको छ ।”
उत्पादन भएको फूल बुटवल, गुल्मीको रिडी तथा स्थानीय बजारहरुमा बिक्री भएको उनले बताए । गत वर्ष फूलको मूल्य कम रहेकाले अपेक्षाअनुसार आम्दानी नभएको र यसपालि मूल्य राम्रो निर्धारण भएकाले पनि आम्दानीमा वृद्धि हुने विश्वास उनको छ । “गत वर्ष एकै याममा रु दुई लाख ५० हजार आम्दानी भएको थियो”, उनले भने, “यस वर्ष क्षेत्रफल, बेर्ना र मुल्य पनि बढेकाले आम्दानी पनि बढ्छ, करिब चार लाख आम्दानी हुने अपेक्षा गरेको छु ।” गत वर्ष माला बनाएर बिक्री गर्दा पनि अपेक्षाअनुसार आम्दानी गर्न नसकेकाले यसवर्ष मालाभन्दा पनि फूलका थुङ्गा बिक्रीमा जोड दिएका छन ।
गाउँपालिका आफैँले व्यावसायिक रुपमा फूलखेती गरेको छ । व्यावसायिक फूलखेती गर्न चाहने कृषकहरुलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउनुका साथै बजारीकरणको समेत व्यवस्था गरिदिएकाले गाउँपालिका नै फूलमय बन्न पुगेको छ । यहाँबाट बर्सेनि लाखौँ मूल्यको फूल देशका विभिन्न सहरहरुमा पुग्ने गरेको छ । कालीगण्डकी–१ का व्यावसायिक कृषक हीरामणि सुवेदीले यसपालिको दसैँ, तिहारको अवधिमा होलसेलमा रु ३०० र फुटकरमा रु ४०० प्रतिकेजीका दरले फूलका थुङ्गा बिक्री गर्नुभयो । गत वर्षभन्दा यस वर्ष फूलको उत्पादन र मूल्य राम्रो पाईएकाले आम्दानी वृद्धि भएको उहाँले बताउनुभयो । उनले दसैँ, तिहारको अवधिमा मात्रै रु एक लाख ५० हजार आम्दानी गरे ।
कालीगण्डकी–२ कि पुष्पा सिञ्जाली राना, वडा नं ५ का रविलाल गौडेल, वडा नं ६ का युवराज अधिकारी र वडा नं ७ का घनबहादुर थापाले दसैँ, तिहारको अवधिमा रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गरेको कृषि अधिकृत पौडेलले जानकारी दिए । गत असारमा शिक्षण पेशाबाट अवकास लिएका स्याङ्जाको चापाकोट नगरपालिका–१ बेलडाँडाका तुल्सीराम भण्डारीले फुर्सदको समयलाई फूलखेतीमा लगाएर वर्सेनि मनग्य आम्दानी गर्दै आएका छन ।
भण्डारीले महान् चाडहरु दसैँ, तिहार, छठ पर्वलगायतका धार्मिक कार्यहरुलाई लक्षित गरी दुई चरणमा फूलका बिरुवा रोप्नुभएको थियो । दसैँ, तिहारलाई लक्षित गरी तीन रोपनी क्षेत्रफलमा र मङ्सिरपछि उत्पादन हुने गरी थप दुई रोपनी क्षेत्रफलमा फूलखेती गरेको उनले बताए । “शिक्षण पेसामा रहँदै गर्दा पनि बिहान–बेलुकाको समयमा थोरै मात्रामा फूल खेती गरेको थिएँ”, उनले भने, “फूलखेतीबाट राम्रै आम्दानी हुने देखेपछि अहिले त झन पूरै समय फुर्सद भएकाले व्यावसायिकरुपमा फूल खेती थालेको हुँ ।”
बाँदरले अन्नबाली नष्ट गरिदिएपछि अन्नबालीको विकल्पका रुपमा सयपत्री फूलखेती थालेको उनले बताए । अन्नबालीको विकल्पमा फूलखेतीको व्यावसायिक उत्पादन गरेका भण्डारीले माग अनुसार फूल पु¥याउन नसकेको बताए । “सयपत्री फूल तथा मालाको माग अत्याधिक भएको छ”, उनले भने, “माग भएबमोजिम उपलब्ध गराउन सकिएको छैन ।”
यहाँ उत्पादन भएको फूल बुटवल, नारायगढ, बर्दघाट, पोखरालगायत स्थानीय बजारमा सजिलै बिक्री हुने गरेको छ । उनले ‘कर्मा ५५५ मेरीगोल्ड’ जातको फूल लगाउनुभएको हो । उहाँले गर्नुभएको व्यावसायिक फूलखेतीमा पत्नी सरस्वती भण्डारी, छोराहरु बासु र रामचन्द्रले पनि साथ दिएका छन । यहाँ उत्पादन भएको फूलको बजारीकरणका लागि माग भई आएका ठाउँमा आफैँ पु¥याउने वा गाडीमार्फत पठाइदिने काम छोराहरुले गर्दै आएका उहाँले बताए।
उनले फूलका थुङ्गा होलसेलमा प्रतिकेजी रु ३००, फुटकरमा प्रतिकेजी रु ४०० देखि रु ४५० र माला प्रतिगोटा रु ९० सम्म बिक्री गर्दै आएका छन। ग्राहकको मागका आधारमा माला वा फूलका थुङ्गा दुवै बिक्री गर्ने गरेको उनले बताए । अहिलेसम्म झण्डै रु छ लाखको फूल तथा माला बिक्री भइसकेको छ । तिहारपछि पनि बुटवल तथा स्थानीय बजारहरुबाट फूल तथा मालाको माग आइसकेको उनले बताए । “असारमा लगाएको बेर्नाले दसैँदेखि उत्पादन दिन थालेको हो” उनले भने, “दोस्रो चरणमा लगाएको फूलको उत्पादन मङ्सिरसम्म लिन सकिन्छ ।”
गत वर्ष एकै याममा फूल तथा माला बिक्रीबाट रु पाँच लाखभन्दा बढी आम्दानी गरेका उनले यस वर्ष रु १० लाख बढी आम्दानी हुने बताए । साठी वर्षीय भण्डारीले दसैँ, तिहारको अवधिमा मात्रै माला बिक्रीबाट रु दुई लाख ५६ हजार १६० आम्दानी गरे । फूलका थुङ्गा बिक्रीबाट रु चार लाख सात हजार ५० आम्दानी गरेका हुन । उनले सयपत्री फूलका बिरुवा÷बेर्ना बिक्रीबाट पनि रु ५३ हजार आम्दानी भएको जानकारी दिए । बजारको माग र उत्पादन पनि सोही अनुसार हुँदा यसपालि राम्रो आम्दानी भएको उनी बताउछन । भण्डारीले विगत चार वर्षदेखि फूलखेती गर्दै आएका छन ।
शिक्षकका रुपमा गाउँकै विद्यालयमा कार्यरत रहँदा नै फुर्सदको समयमा व्यावसायिक बन्दै आत्मनिर्भर बन्ने प्रयास गरेका भण्डारीले गाउँमै तीन रोपनी जग्गामा फूलखेती गरेका हुन । बाँझो जमिनको सदुपयोग गर्दै आगामी दिनमा फूलखेतीका लागि थप क्षेत्रफल बढाउने योजनामा उनी छन ।
वालिङ–१४ भङ्गेनीका युवा कृषक प्रकाश डुम्रेले पनि विगत आठ वर्षदेखि व्यावसायिक रुपमा फूलखेती गर्दै आएका छन । उनले वालिङ बजार नजिकै तीन रोपनी जग्गा भाडामा लिएर व्यावसायिक रुपमा सयपत्री फूलखेती गर्दै आएका छन । दसैँ, तिहारजस्ता चाडपर्व लक्षित बिवाह, ब्रतबन्धजस्ता धार्मिक, सांस्कृतिक तथा विशेष मेला महोत्सवहरुमा उहाँले फूल तथा माला बिक्री गर्दै आएका छन । फूलका थुङ्गा प्रतिकेजी रु ३५० देखि ४०० र प्रतिमाला रु १२० का दरले बिक्री गर्नुभएका डुम्रेले बर्सेनि राम्रो कमाइ गर्दै आएका छन ।
स्थानीय व्यापारी तथा व्यक्तिहरुले पनि फोन सम्पर्क गरी माला तथा फूलको माग गर्ने भएकाले बिक्रीका लागि बजारको समस्या नभएको उनले बताए । गत आर्थिक वर्ष २०७५÷७६ मा वालिङ नगरपालिकाबाट रु एक लाख अनुदानसमेत उनले प्राप्त गरेका थिए । नगद अनुदानभन्दा पनि गुणस्तरीय बीउबिजन तथा उपकरणहरु दिएमा आफूजस्ता किसानलाई थप प्रोत्साहन मिल्ने उनको भनाई छ । जिल्लामा फूल उत्पादनको परिणामका बारेमा कृषि ज्ञान केन्द्रमा यकिन तथ्याङ्क छैन । फूल उत्पादन गर्ने व्यवसायीहरुको समूह बनाउने तयारीमा कृषि ज्ञान केन्द्र रहेकाले अबका दिनमा मात्रै जिल्लामा फूलको उत्पादन, आयात, निर्यात तथा कारोबारका बारेमा विवरण आउने कार्यालयका सूचना अधिकारी विकास विकले जानकारी दिए।