कास्की :
गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’लाई पोखर वडा नम्बर १२ ले सहयोग गर्ने भएको छ। कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा असोज २ गते सुरु हुने यस प्रतियोगीतालाई वडाले सहयोग गर्ने भएको हो।
पोखरा महानगरपालिका १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले मिडिया कप फुटसललाई सहयोग गर्ने सहमति भएको बताए। अध्यक्ष बास्तोलाले प्रतियोगितालाई सहयोग गर्न पाउँदा गौरवान्वित भएको महशुस गर्दै फुटसललाई सभ्य र भव्य बनाउन आफ्नो साथ रहने बताए। यस अवसरमा आयोजक कल्प मिडियाका अध्यक्ष सुरज श्रेष्ठले प्रतियोगिता सफल पार्न हातेमालो गरेकोमा वडाध्यक्ष बास्तोलालाई धन्यवाद ज्ञापन गरेका छन्।
पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता सञ्चालन हुने मिडिया कप फुटसलको तयारी तीब्र पारिएको जनाउँदै अध्यक्ष श्रेष्ठले अन्य संस्थासँग साझेदारीका काम भइरहेको बताए। अध्यक्ष श्रेष्ठका अनुसार प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन्। त्यसैगरी दोस्रो हुने टोलीले नगद ३० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल पाउनेछन्।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ। आयोजकका अनुसार सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट गोलकिपरलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले १५ सय रुपैयाँ पुरस्कार पाउनेछन् । सहभागी जिल्लालाई मायाको चिनो र प्रमाणपत्र समेत प्रदान गरिने श्रेष्ठले बताए।
खेलाडीले एक प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल पत्रकार महासंघ वा सूचना विभागको कार्डको प्रतिलिपि र सम्बन्धित जिल्लाको महासंघबाट सहभागी हुन लेखिएको पत्रसमेत उपलब्ध गराउनु पर्ने उनले प्रष्ट पारे। प्रतियोगितामा सहभागी हुन चाहने टोलीले भदौ २० गतेभित्र टिम दर्ता गर्नु पर्ने छ। टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ।