काठमाडौं :
नेपाली कलाकारहरूबीच विद्युतीय गाडी (ईभी) खरिद गर्ने क्रम तीव्र बनेको छ। किफायती खर्च र वातावरणमैत्री विशेषताका कारण पछिल्लो एक वर्षमा एक दर्जनभन्दा बढी कलाकारले विद्युतीय कार किनेका छन्।
केही दिनअघि अभिनेता प्रदीप खड्काले करिब ७५ लाख रुपैयाँ मूल्य पर्ने ‘दिपल एसओ सेभेन’ विद्युतीय गाडी खरिद गरेका छन्। यसअघि उनी हुन्डई क्रेटा प्रयोग गर्दै आएका थिए। सोही मोडलको गाडी अभिनेता अनुप विक्रम शाहीले पनि खरिद गरेका छन्।
अभिनेत्री प्रियंका कार्कीले महेन्द्राको ‘बी सिक्स’ विद्युतीय गाडी किनेकी छन्, जसको न्यूनतम मूल्य ६८ लाख रुपैयाँ छ। यसअघि अभिनेत्री स्वस्तिमा खड्काले पनि यही मोडलको गाडी खरिद गरेकी थिइन्।
अभिनेत्री तथा राप्रपाकी नेतृ रेखा थापाले जाइकु ब्रान्डको ‘जे सिक्स’ विद्युतीय गाडी किनेकी छन्। अभिनेता तथा निर्देशक अर्पण थापाले ‘आयन भी’ ईभी खरिद गरेका छन्। अभिनेत्री बेनिशा हमाल र गरिमा शर्माले पनि पछिल्लो समय विद्युतीय गाडी प्रयोग गर्दै आएका छन्। यसरी लगातार कलाकारहरू ईभीतर्फ आकर्षित हुनुले नेपाली बजारमा विद्युतीय सवारीप्रति विश्वास बढ्दै गएको संकेत गरेको छ।
