काठमाडौं । महाशिवरात्रिको अवसर पारेर फागुन १ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ को पहिलो झलक सार्वजनिक गरिएको छ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण पक्षले दिवंगत चलचित्र पत्रकार तथा फिल्मका मिडिया संयोजक दिनेश सिटौलाप्रति श्रद्धाञ्जली अर्पण गर्दै फिल्मको करिब ६ मिनेट लामो दृश्य सार्वजनिक गरेको हो।
सार्वजनिक भिडियोमा परिवारभित्रको विवाद, आन्तरिक द्वन्द्व र त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरिएको छ। गहिरो प्रेममा रहेका जोडीको विवाह चिना नमिल्दा उत्पन्न हुने पारिवारिक तनावलाई फिल्मको मुख्य कथावस्तुका रूपमा देखाइएको छ।
सुदीप भुपाल सिंहको लेखन तथा निर्देशनमा बनेको फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, रोशनी कार्की, निकिता आचार्य, प्रतिकराज आचार्य, राजन इशान, दीपिका थापा लगायतको अभिनय रहेको छ। फिल्मकी निर्मात्री रुबी सेन सिंह हुन्।
