सुचना, समाचार र मनोरन्जन

आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छः महामन्त्री थापा

 

चितवन : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आमनिर्वाचनअघि नै हुने बताएका छन् ।

 

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार चार वर्षमा महाधिवेशन हुने बताए ।

 

उनले भने, ‘हामीले तोकिएको समयमा महाधिवेशन गर्नका लागि आगामी चैतभित्र पार्टीको क्रियाशील सदस्यता टुंग्याउने गरी काम गरेका छौँ, तल्लो तहका साथीहरूले त्यसलाई सहयोग गर्नुपर्‍याे ।’ विधानले एक वर्ष समय थप गर्न सक्ने व्यवस्था गरेको भए पनि दुई-तीन महिना तलमाथि भए पनि एक वर्ष पूरै नथपिने उनले बताए ।

 

उनले भने, ‘नेपाली कांग्रेसको विधानअनुसार २०८२ सालको मंसिर/पुसमा चार वर्षको कार्यकाल सकिन्छ, हाम्रो प्रयास चार वर्षभित्र महाधिवेशन गर्ने थियो र अहिले पनि छ, तर पार्टीको सदस्यता वितरण र अन्य कुरा हेर्दै गर्दा ठ्याक्कै त्यही तिथिमितिभित्र हामी भ्याउँछौँ नै भनेर सम्पूर्ण रूपमा दाबी गर्ने अवस्था छैन,’ उनले भने, ‘एक वर्षका लागि म्याद थपको सुविधा रहन्छ, सभापतिसँग बसेर सल्लाह गरिरहेका छौँ, जति समय आवश्यक पर्छ त्यति समय अघि बढाऔँ ।’

 

पार्टीको महाधिवेशन २०८४ निर्वाचनअघि जति महाधिवेशन अघि तान्न सक्यो त्यति हितकर हुने उनको भनाइ थियो । फरक प्रसंगमा बोल्दै उनले सरकारले ल्याएको अध्यादेश एक-दुई दिनमा संसदमा टेबल हुने बताए ।

 

टेबल भएपछि संसदबाट छलफलसहित पास हुने उहाँको भनाइ थियो । सरकारले सामाजिक सञ्जाल नियमनको विषयमा ल्याएको विधेयक आएको जसरी कानुन नबन्ने उनले स्पष्ट पारे ।

 

यो विधेयकमा धेरै समस्या रहेको बताउँदै उनले विधेयक नसच्याई, परिमार्जन नभई र संशोधनविना पारित नहुने उनले बताए ।

Leave A Reply

Your email address will not be published.