काठमाडौं :
पाकिस्तानी गजल गायक उस्ताद गुलाम अली, आमिर गुलाम अली र नाजिर गुलाम अलीको स्वरमा रहेको गजल ‘गजल उनकै गीत उनकै’को भिडियो सार्वजनिक भएको छ । गजलमा मनोज खड्काको शब्द, मिलन मोक्तानको संगीत छ।
गजलको भिडियोमा केही दिन अघि ललितपुरमा आयोजित ‘गुलाम अली थ्री जेनेरेसन अन वन स्टेज’ कार्यक्रमका दृश्य समेटिएका छन्। भिडियोमा गुलाम अली नेपाल आउँदा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको स्वागतदेखि उनको कार्यक्रमसम्मको दृश्यलाई स्थान दिइएको छ । प्रज्ञा साउण्ड रेकर्डिङमा रेकर्ड गरिएको गीतमा किरण कँडेलको एरेन्ज छ। गजल तयार गर्न दीप तुलाधरले मुख्य सल्लाहकारको भूमिका खेलेका छन्।
गजलकार मनोज खड्काले उस्ताद गुलाम अलीको तीन पुस्ताले रेकर्ड गरेको हाल सम्मकै पहिलो ऐतिहासिक गजल रहेको बताए। भिडियोमा गजल तयार पार्दाको दृश्यलाई पनि राखिएको छ। भिडियो मनोज खड्का अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतकार खड्काका केहि कर्णप्रिय गीत बजारमा आईसकेका छन। रामकृष्ण ढकालको स्वरमा गाउघरले सोध्यो परदेशीलाई’, प्रमोद खरेल र त्रिशला गुरुंगको स्वरमा ‘तिमी जे बन उदाहरण बन’ र मेनुका पौडेलको स्वरमा रहेको ‘तेजस्वी अप्सरा’लगायतले नेपाली श्रोतादर्शकको माया पाएका छन्।