सुचना, समाचार र मनोरन्जन

प्रेम विकलाई गण्डकी लोकताराको उपाधि

गण्डकी,

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिद्वारा आयोजित लोकगायन प्रतियोगिता ‘प्रथम गण्डकी लोकतारा’को उपाधि बागलुङका प्रेम विकले हात पारेकी छन।

शनिबार पोखरामा भएको फाइनल प्रतियोगितामा बाँकी १७ जना प्रतिस्पर्धीलाई उछिन्दै उनी ‘प्रथम गण्डकी लोकतारा’ बन्न सफल भएका हुन । विकले उपाधिसँगै नगद पुरस्कार रु ५१ हजार १११ प्राप्त गरे । प्रतियोगितामा स्याङ्जाकी शिला गुरुङले दोस्रो स्थान हासिल गर्दै रु ३१ हजार १११, तृतीय स्थान प्राप्त गर्ने म्याग्दीका विजय परियारले रु २१ हजार १११ प्राप्त गरे । सान्त्वना स्थान हासिल गर्ने दिलीप मानन्धरले रु ११ हजार १११ प्राप्त गरेका छन ।

उत्कृष्ट आवाजतर्फको उपाधि गोरखाका पवनसिंह परियारलाई प्रदान गरियो । प्रथम, द्वितीय र तृतीय हुने कलाकारलाई निःशुल्क गीत रेकर्डिङको समेत अवसर दिइने प्रतिष्ठानको गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष राजन कार्कीले जानकारी दिए।

प्रतिभा पहिचानसँगै लोकसङ्गीत जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा जिल्लास्तरीय ‘अडिसन’बाट छानिएका १८ प्रतिस्पर्धीले भाग लिएका थिए ।

मुस्ताङ र मनाङबाहेक गण्डकी प्रदेशका नौ जिल्लामा ‘अडिसन’ सञ्चालन गरिएको थियो । प्रतियोगिताको निर्णायकमा गायक दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपानेलगायत रहेका थिए । विश्व सङ्गीत दिवसको अवसर पारेर प्रतिष्ठानको प्रदेश कार्यसमितिले पहिलोपटक प्रदेशस्तरीय बृहत् लोकगायन प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.