पोखरा,
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजनामा ‘गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको र पोखरासहित समग्र गण्डकीकै पर्यटन प्रवद्र्धनमा मिडियाको भूमिका महत्वपूर्ण भएको बताए । हाल पोखरा भ्रमण वर्ष–२०२५ पनि चलिरहेको जनाउँदै महासंघसँग आगामी दिनमा पनि सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन ।
पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेलले पर्यटकीय गन्तव्य पहिचानमा ‘मिडिया आवाजविहीनको आवाज’ मिडियाबाट सघाउ पुगेको बताए । सोसल मिडिया, भ्लगहरु, टिकटकसमेत पछिल्लो समय पर्यटन प्रवद्र्धनको लागि सहायक सिद्ध भएको बताएका थिए । गण्डकीका सबै जिल्लाका पत्रकारसँग अन्तरक्र्रियाको अवसर जुटाइदिएकोमा महासंघप्रति खुसी व्यक्त गर्दै भुजेलले भने, ‘पर्यटनको राजधानी पोखरामा यसप्रकारको पहिलो कार्यक्रम हो, तर अन्तिम नहोस् ।’ विश्वमा पर्यटन चलायमान हुनुमा ७५ प्रतिशत हात मिडियाको रहेको पनि तथ्य प्रस्तुत गरे । उनले विभिन्न जिल्लाका ऐतिहासिक, धार्मिक, भौगोलिक महत्वका विषयवस्तुबारे जानकारी मिडियाले दिनेमा अपेक्षा गर्दै भविष्य पनि हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए।

रेवान पोखरा महासचिव वीरेन्द्र शेरचनले अर्को साता हुने २७ औं पोखरा सडक महोत्सव तयारीमा आफूहरु जुटेको जानकारी दिँदै यसबाट जाडोयाममा सुस्ताउने पोखराको पर्यटनमा सडक महोत्सवले प्रवद्र्धन गरेको बताए । यही पुस १३ देखि १७ गतेसम्म हुने सडक महोत्सव सफल पार्न मिडियाबाट विगतमा झैं व्यापक प्रचारप्रसारको अपेक्षा गरे ।टान गण्डकी अध्यक्ष कृष्णप्रसाद आचार्यले टान ११ वटै जिल्लामा फैलिएको र जहाँ गए पनि पर्यटन प्रवद्र्धनमा मिडियाबाट सहयोग हुने गरेको बताए । संरक्षित क्षेत्रमा जाँदा ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले हिमालको ५ किमी वरिपरि बाटो तथा हाइड्रो जान नहुने बताए । ट्रेकिङका क्रममा यदि कुनै मानवीय क्षति हुन गए त्यसको बदनाम नेपालकै हुने भएकाले ध्यान दिनुपर्ने उनको सुझाव थियो ।
नाट्टा महासचिव संगीता पौडेलले पर्यटनमा ठूलो लगानी गरेर संरचना खोलिएको, तर त्यसको प्रतिफल अझै पाउन नसकिएको गुनासो गरिन् । मिडियाले पर्यटन प्रवद्र्धनमा कलम चलाएमा गण्डकी प्रदेशकै पर्यटनमा टेवा पुग्ने उनले बताइन् ।प्रेस चौतारी गण्डकी अध्यक्ष इन्द्रप्रसाद पौडेलले पर्यटन क्षेत्र संवेदनशील भएकाले मिडियाले पनि सत्य, तथ्य र निष्पक्ष रुपमा कलम चलाउनुपर्ने बताए । उनले भने, ‘यदि नकारात्मक सन्देश प्रवाह भए क्षणभरमै पर्यटनमा कैयौ बुकिङ रद्ध हुने अवस्था हुन्छ । तसर्थ मिडियाकर्मीले पनि ध्यान दिनपर्छ ।’ नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहाललगायतले पर्यटनको प्रवद्र्धनमा पत्रकार महासंघ केन्द्र पनि सहकार्य गर्न सधैँ तयार रहेको बताए ।
पत्रकार महासंघ गण्डकी प्रदेश समिति अध्यक्ष रमेश पौडेलले पोखरालाई केन्द्रमा राखेर गण्डकी प्रदेशभर विभिन्न पर्यटकीय गतिविधि सञ्चालन एवं प्रवद्र्धनमा मिडियाले सरोकारवालासँग सहकार्य गर्न तयार रहेको बताए ।

महासंघ गण्डकी उपाध्यक्ष प्रकाश पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन महासचिव जमुना वर्षा शर्मा र धन्यवाद ज्ञापन महिला उपाध्यक्ष माया अधिकारीले गरिन् ।कार्यक्रममा टेवान अध्यक्ष शोभा पाण्डे, गाउँ पर्यटन प्रवद्र्धन मञ्च अध्यक्ष शोभा सापकोटा, एगा पोखरा अध्यक्ष गोकर्ण लम्साल, नाका अध्यक्ष अनिल केसी लगायत पर्यटनसम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधि, महासंघ जिल्लाका अध्यक्ष, सचिव, कोषाध्यक्ष, एवं पत्रकारलगायतको उपस्थिति थियो ।