सुचना, समाचार र मनोरन्जन

पोखरामा गन्धर्व गुञ्जन हुँदै, ८६ कलाकारले सारङ्गीको धुन गुञ्जाउने

पोखरा,

पोखरा प्रज्ञा प्रतिष्ठानको आयोजनामा गन्धर्व समुदायको मौलिक कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले गन्धर्व गुञ्जन कार्यक्रम हुने भएको छ । यही असोज १० गते शनिबार पोखरा उद्योग वाणिज्य संघको हलमा हुने कार्यक्रममा पोखरा तथा आसपासका विभिन्न स्थानका ८३ जना गन्धर्व कलाकार र ३ जना अतिथि कलाकारसहित ८६ जना कलाकारको सहभागिता रहने पोखरा प्रज्ञा प्रतिष्ठानकी कुलपति सरस्वती प्रतीक्षाले बताएकी छन् । कुलपति प्रतीक्षासहितको नयाँ नेतृत्व आए पछि पोखरा प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको यो पहिलो कार्यक्रम हो । संगीत र साहित्यको उद्गमस्थलको रूपमा पोखराको पहिचानलाई थप उजागर गर्ने उद्देश्यले पहिलो कार्यक्रम सारङ्गी र गन्धर्व संस्कृतिबाट सुरु गरिएको प्रतिष्ठानले जनाएको छ।

कार्यक्रममा विशेषगरी गन्धर्व समुदायका मौलिक कला तथा सांस्कृतिक प्रस्तुतिलाई प्राथमिकता दिइनेछ । कार्यक्रममा गन्धर्व कलाकारहरूले एकल, युगल तथा सामूहिक प्रस्तुति दिनेछन् । यसका अलवा वरिष्ठ कलाकार पूर्ण नेपाली, वरिष्ठ कलाकार कृष्णबहादुर गन्धर्व र युवा कलाकार कुशल बेलवासे सहितका कलाकारको प्रस्तुतिमा रम्न पाइनेछ । पोखराको बाटुलेचौर, हेम्जा तथा लेखनाथ–बढहरे क्षेत्रका गन्धर्व कलाकारका प्रस्तुति, मौलिक तरबार नृत्य, तल्लो गगनगौडाका गन्धर्व कलाकारका मौलिक झ्याउरे तथा पुराना प्रस्तुतिहरू समावेश गरिने आयोजकले जनाएको छ ।

Protin

त्यस्तै, सारङ्गी, मादल र बाँसुरीका धुनसँगै युवालाई लक्षित सारङ्गी वादन तथा गायन प्रस्तुति पनि रहनेछ । गन्धर्व समुदायका मौलिक पुर्ख्यौली गीत तथा घटनाका गीतका साथै पछिल्लो भोटेकोसी बाढीपहिरो घटनासँग सम्बन्धित गीतसमेत कार्यक्रममा प्रस्तुत गरिने जनाइएको छ । गन्धर्व जातिको कर्खा, निर्गुण, रत्यौली जस्ता गीत समेत प्रस्तुत हुने कार्यक्रममा प्रवेश निःशुल्क रहेको छ । कार्यक्रम दिउँसो १ बजे सुरु भई करिब ३ घण्टासम्म सञ्चालन हुनेछ । कार्यक्रमको तयारीमा तीव्रता दिएको आयोजकको भनाइ छ । यसका अलावा संचारकर्मी दीपेन्द्र श्रेष्ठको सहजिकरणमा गन्धर्व समुदायका व्यक्तिहरूको सहभागीतामा प्यानल डिस्कसन समेत हुनेछ ।

पोखरा महानगरपालिकाबाट प्रतिष्ठानको लागि चालु आर्थिक वर्षमा करिब १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजित भएको छ । यसमध्ये १ करोड ३० लाख रुपैयाँ कार्यक्रम सञ्चालनमा र २० लाख रुपैयाँ कार्यालय सञ्चालनलगायतका काममा खर्च गर्ने योजना रहेको सदस्य–सचिव जीवन दाहालले जानकारी दिए । प्रतिष्ठानका सदस्य–सचिव जीवन दाहालले कार्यक्रमलाई बृहत् र प्रभावकारी बनाउने तयारी भइरहेको बताए । गन्धर्व समुदायका मौलिक कला, संगीत र प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्दै संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

गन्धर्व कलाकारका प्रतिभा र सारङ्गीका धुनसँग पोखराको पनि पहिचान जोडिएको दाहालले बताए । पोखरा आसपासका कलाकारका हिजो, आज र भोलिका सिर्जना तथा जीवनका कथालाई बाहिर ल्याएर संरक्षण गर्दै देश तथा प्रदेशस्तरमा पुर्‍याउने प्रयास स्वरूप यो कार्यक्रम गर्न लागिएको उनको भनाइ छ । प्रतिष्ठानले आगामी दिनमा राष्ट्रव्यापी कविता सम्मेलनलगायतका विभिन्न कार्यक्रम आयोजना गर्ने तयारीसमेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.