सिनेमाका लागि यसअघि नै अभिनेत्री वर्षा सिवाकोटी मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेकी छन्। ‘गंगा रानी’मा रोशन र वर्षाको जोडी दर्शकले पहिलोपटक ठूलो पर्दामा देख्न पाउनेछन्। केही म्युजिक भिडियोमार्फत अभिनय यात्रा सुरु गरेका रोशन ‘गंगा रानी’लाई लिएर उत्साहित छन्। उत्कृष्ट कथा र अनुभवी टिमसँग काम गर्ने अवसर पाएकाले सिनेमामार्फत डेब्यु गर्न तयार भएको उनले बताएका छन्।
निर्माण टिमले वर्षा सिवाकोटी अनुबन्धित भएसँगै ४ अभिनेता र ४ अभिनेत्रीका लागि अडिसन खुलाएको थियो। सोही अडिसनबाट रोशन मुख्य अभिनेताको रूपमा छनोट भएका हुन्। करिब ५०० सयबढि आवेदकबाट रोशनलाई मुख्य अभिनेताको रुपमा छनोट गरिएको निर्देशक सानेले बताए। निर्देशक सानेका अनुसार अहिले अडिसनबाट प्राप्त फोटो तथा भिडियोको आधारमा थप ३ अभिनेता र ३ अभिनेत्री छनोट गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
निर्देशक सानेले यसअघि ‘पाठशाला’, ‘द रिटर्न हिरो’, ‘लाटी’, ‘वृन्दावन’, ‘बिरंगना’, ‘डोली’, ‘गुड फ्रेण्ड’, ‘सिल्ली फो’, ‘बुलाकी’, ‘जुना’ र ‘सिटामोल’ जस्ता सिनेमा निर्देशन गरिसकेका छन्। यसैबीच, आहा फिल्मस्को प्रस्तुतिमा निर्माण भएको र सानेकै निर्देशन रहेको सिनेमा ‘लज्जावती’ आगामी साउन २९ गतेदेखि प्रदर्शनको तयारीमा छ।