सुचना, समाचार र मनोरन्जन

गौ सेवाका लागि महायज्ञ : रु.५८ लाख बढी रकम सङ्कलन

पोखरा ।

राष्ट्रिय परोपकार महासंघ नेपालद्वारा आयोजित सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञमा रु.५८ लाख बढी रकम सङ्कलन भएको छ । पौष २६ गतेदेखि पुष्करिणी परोपकार गोकुलधाम पोखरा १४, बाच्छिबुडुवा (वात्सायन क्षेत्र) मा माघ ४ गतेसम्म आयोजित ज्ञान महायज्ञमा नगद तथा जिन्सी गरी ५८ लाख २२ हजार १८२ रुपैयाँ विभिन्न दानदाताहरूबाट सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष कुश कार्कीले जानकारी दिए ।

उनका अनुसार महायज्ञको पहिलो दिन रु.७२ हजार ८३०, दोस्रो दिन रु.२ लाख ३४ हजार २ सय, तेस्रो दिन रु.४ लाख ३४ हजार १०, चौँठो दिन रु.३ लाख १२ हजार ४५०, पाँचौँ दिन रु.१० लाख ८२ हजार ३६५, छैटौँ दिन रु.७ लाख २३ हजार ९ सय ७५, सातौँ दिन रु.१४ लाख ७६ हजार ७० र अन्तिम दिन रु.८ लाख ३२ हजार सङ्कलन भएको छ । यस्तै महायज्ञमा जिन्सी दान, परोपकार कोष र मुठ्ठी दान समेत गरी रु.५८ लाख २२ हजार १८२ रुपैयाँ सङ्कलन भएको हो ।

महायज्ञको समापन गर्दै पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले फोहोरमैला र छाडा पशु चौपायाको व्यवस्थापन चुनौतीपूर्ण भइरहेका बेला महानगरको सहयोग तथा राष्ट्रिय परोपकार महासंघको व्यवस्थापनमा गोकुल धाम सञ्चालन भएपछि पोखराको सहरी सौन्दर्यीकरण र सडक सुरक्षामा महत्वपूर्ण सहयोग पुगेको बताइन् । गोकुलधाम (गौशाला) व्यवस्थापनका सन्दर्भमा पोखरा महानगरपालिकाको तर्फबाट आवश्यक सहयोग गरिने उनले बताइन् ।

गोकुलधामलाई पोखराको नयाँ पर्यटकीय गन्तव्य तथा अध्ययन अवलोकनको एक उत्कृष्ट एवं पवित्र स्थलका रूपमा विकास गर्नेगरी सहयोग गर्न महानगरपालिका प्रतिबद्ध रहेको उपप्रमुख गुरुङले बताइन् । भौतिक विकासका अलवा सामाजिक, शैक्षिक, सांस्कृतिक, वातावरणीय र मानव संसाधनको विकास समेत अपरिहार्य रहेको उल्लेख गर्दै उनले परम्परागत संस्कार र संस्कृतिको समेत रक्षा गर्नुपर्ने बताइन् । कुनै पनि पशुचौपाय अनुत्पादक भएपछि त्यसलाई सडकमा छोड्ने कार्य दण्डनीय हुने भन्दै त्यस्तो कानुन विपरीत र अमानवीय कार्य नगर्न,नगराउनु उनले आग्रह समेत गरिन् ।

पोखरा महानगरपालिका वडा नं.१४ का वडा अध्यक्ष बोध बहादुर कार्कीले धार्मिक रूपमा महत्व बोकेकी गौ माताको सेवाका लागि अब टाढाको तीर्थ जानु नपर्ने भन्दै त्यसका लागि गोकुलधाम नै काफी हुने बताए । गौशाला व्यवस्थापनमा पोखरा महानगरपालिकाले पुरा गर्नुपर्ने दायित्व देखिने बहन गर्न प्रतिबद्ध हुनु पर्ने उनले बताए । वर्षौँदेखि फोहोर फ्याँक्ने स्थलका रूपमा परिचित पोखरा १४ सुव्यवस्थित गौशाला सञ्चालनले पवित्र स्थलका रूपमा विकसित हुँदै गएको उनले बताए । अध्यक्ष कार्कीले वडा कार्यालयको तर्फबाट रु.५ लाख र आफ्नो व्यक्तिगत तर्फबाट रु.१ लाख १५ हजार दान सहयोग समेत प्रदान गरे ।

पोखरा महानगरपालिका वडा नं.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले गौशाला व्यवस्थापन कार्य सिङ्गो मुलुक कै लागि अनुकरणीय भएको बताए । राष्ट्रिय परोपकार महासंघका केन्द्रीय अध्यक्ष एवं भागवत आदि शास्त्रका कुशल बाचक युवा पण्डित कमलनयन गौतमले पोखराका सडकमा रहेका छाडापशुचौपायको उत्कृष्ट व्यवस्थापन गरी महानगरपालिकालाई ठुलो गुण लगाएको उनले बताए । अध्यक्ष मर्सानीले गौ रक्षाको अभियानका लागि वडा कार्यालयको तर्फबाट रु.५६ हजार रुपैयाँ नगदै र बाँकी पछि व्यवस्थापन गर्ने गरी रु.१ लाख रुपैयाँ दान सहयोग प्रदान गरे ।

राष्ट्रिय परोपकार महासंघका केन्द्रीय अध्यक्ष एवं पुष्करिणी परोपकार गोकुलधामका परिकल्पनाकार भागवत आदिशास्त्रका बाचक युवा पण्डित कमलनयन गौतमले बोलीमा मात्र सीमित गौ सेवाको अभियानलाई व्यवहारिक बनाउने उद्देश्यले घचघच्याउनका लागि गोकुल धामको प्रारम्भ गरिएको बताए । उनले गौ सेवाको अभियानलाई अभिप्रेरित गर्दै परोपकारी कर्मसँग मानवीय क्रियाकलापहरूलाई जोड्न यो महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे ।

“यो समग्र रूपमा पोखराको अर्को एउटा नयाँ गन्तव्य स्थल बन्नेछ, यो केवल गोठ मात्र होइन, नजरले र्हेयो भने त गोठ हुन्छ, तर, सूक्ष्म आँखा खोल्यौ भने साँच्चीकै गौशाला हुन्छ, गौतमले भने, यो छाडा छोडिएका पशुहरूलाई थुन्ने कान्जी हाउन होइन यो, कान्जी हाउस पहिला थियो, अव यो पवित्र गौशालामा परिणत भइसकेको छ, यहाँ गौ माताको रेखदेख र सुसार हुन्छ ।” गोबर र गौमुत्रको प्रशोधनको प्रक्रिया सुरु गरिएको र जसको उपयोग मार्फत दशौँ रोपनी बन्जर जमिनलाई अग्र्यानिक उत्पादनको थलोका रूपमा विकास गरिएको उनले बताए ।

आफुहरु गौशाला परिसरमा ३६५ प्रजातिका डाले घाँसका बिरुवाहरू रोप्ने अभियानमा रहेको युवा पण्डित गौतमले बताए । गो बंस र मानव सभ्यता एकै ठाउँमा रमाउन सक्ने प्राणी हुन भन्ने कुरा जगतलाई स्मरण गराउनका लागि यो अभियानको थालनी गर्न लागिएको उनले बताए । गौशालाले विशुद्ध गौमातासँग जोडिएर गर्न सकिने उपचारका पद्धतिहरू, अध्ययनका विद्याहरू, प्रशोधन पश्चात् मानवका लागि आवश्यक सामाग्रीहरू उत्पादन गर्दै आगामी दिनमा यसलाई आत्मनिर्भर बनाउने दिशा तर्फ लैजाने योजना समेत गौतमले सुनाए ।

गौ माताको महिमा अपरम्पार रहेको बताउँदै गौतमले विषपान गरेर पनि अमृत प्रदान गर्ने गौहरूको आश्रय स्थल गौशालालाई जीवन्त पाठशालाका रूपमा चित्रण गरे पोखरा आउने पर्यटकहरू, भ्रमणका लागि आउने विभिन्न स्वदेशी तथा विदेशी समूहहरू, विद्यार्थीहरू सवैसवैलाई गौशालासम्म पुग्ने अवस्थाको सृजना गरिने उनले बताए । पवित्र उद्देश्यले थालिएको असल कर्मलाई भगवान्ले पूर्णता प्रदान गर्ने उल्लेख गर्दै भागवत भास्कर गौतमले असल कर्मका लागि उद्धत हुन प्रेरणा समेत प्रदान गरे ।

राष्ट्रिय परोपकार महासंघको १६ औँ वार्षिक उत्सवका अवसरमा आयोजित महायज्ञको पौष २६ गते पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए । सप्ताहव्यापी महायज्ञको ३५ हजार बढी दानदाता तथा भक्तजनहरूले कथा श्रवण गरेका आयोजकले बताएको छ । महायज्ञबाट सङ्कलित रकम गौ सेवा तथा गौशाला व्यवस्थापनमा खर्च गरिने छ । हाल गौशालामा २०० बढी गाईहरू संरक्षित छन् ।

पोखरा महानगरपालिकाले महानगर क्षेत्रमा पशुपालन व्यवसाय गरेका व्यवसायी तथा घरमा पालिएका घरपालुवा पशुचौपायका धनीहरूलाई जथाभाबी रूपमा सडकमा पशुचौपाय नछोड्न आग्रह गरेको छ । अन्यथा सडकमा छोडिएका पशुचौपायहरुको पहिचान गरी सडकमा छोड्नेलाई आवश्यक कारबाही गरिने महानगरपालिकाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.