काठमाडौँ :
यही शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘गौँथली’को अग्रिम टिकट बुकिङ खुला भएको छ। प्रदर्शन मिति नजिकिएसँगै राजधानी र मोफसलका अधिकांश मल्टिप्लेक्सहरूले मंगलबारदेखि नै फिल्मको शो सार्वजनिक गर्दै बुकिङ खुला गरेका हुन्।
देशकै ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले शुक्रबारका लागि शो तालिका सार्वजनिक गरेको छ। त्यसैगरी, दोस्रो ठुलो मल्टिप्लेक्स चेन आइएनआई र वान सिनेमाज लगायतले पनि शो खुलाएका छन्। देशभरका अधिकांश हलहरूले यो फिल्मको अग्रिम टिकट बुकिङ खुला गरिसकेका छन्। फिल्मका वितरक करण श्रेष्ठ ‘क्रेजी’ का अनुसार हलहरूले शो उपलब्ध गराउने क्रम जारी छ। उनले भोलिसम्ममा देशभरका हलहरूबाट ‘गौँथली’ ले २०० भन्दा बढी शो पाउने दाबी गरेका छन्।
‘शो खुल्ने क्रम जारी छ, अहिले नै यति नै शो भन्न सकिन्न,’ वितरक श्रेष्ठ भन्छन्, ‘तर भोलिसम्ममा देशभरबाट २ सयभन्दा बढी शो आउनेछ।’
प्रिमियरमा उत्कृष्ट प्रतिक्रियासहित उच्च हाइप बनाएको यो फिल्मले बक्स अफिसमा राम्रो ग्रस कलेक्सन गर्नेमा निर्माण टिम विश्वासिलो देखिन्छ। प्रिमियरमा फिल्म हेर्नेहरूले यसको विषयवस्तु, अभिनय र प्रस्तुतिको प्रशंसा गर्दै सकारात्मक प्रतिक्रिया दिएकाले त्यसको राम्रो प्रभाव हलमा पनि देखिनेमा निर्माण टिम ढुक्क छ।
कपिल रिजालले निर्देशन गरेको यस फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। त्यस्तै, बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्माताका रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माता रहेका छन्।
डा. भोला रिजालको कथा रहेको यस फिल्मको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर,निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्। गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस फिल्मलाई हरि हुमागाईंले छायाङ्कन र मिलन श्रेष्ठले सम्पादन गरेका हुन्। यो फिल्मलाई रिच इन्टरटेनमेन्ट,एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्नेछन्। फिल्मको डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ।