काठमाडौं :
शुक्रबार (आज)बाट देशभरका हलमा चलचित्र ‘गौँथली’ प्रदर्शनमा आएको छ। २०० भन्दाबढि शो सहित यो चलचित्र प्रदर्शनमा आएको हो। डाक्टर कपिल रिजाल निर्देशित यस चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपाली लगायतको अभिनय रहेको छ। साथै,बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रको कार्यकारी निर्माता सरला रिजाल छिन्। निर्माताको रूपमा सुमन गिरी र डाक्टर कपिल रिजाल छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माता रहेको यो चलचित्रमा डाक्टर भोला रिजालको कथा हो। चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस चलचित्रमा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन छ। यो चलचित्रको गत सोमबार प्रिमियर गरिएको थियो। जसमा अधिकांशले मन पराएका थिए। चलचित्र रिलिजमा आएपछि निर्देशक कपिलले भने,“हाम्रो चलचित्र आजबाट प्रदर्शनमा आएको छ । प्र्रिमियरमा जस्तै आम दर्शकले पनि हलमा मन पराउनु हुनेछ भन्ने हाम्रो विश्वास छ।”