सुचना, समाचार र मनोरन्जन

‘माइल्ड अटिजम’ र छोरीको शिक्षाको कथा बोकेको ‘गौँथली’ हेरेर दर्शक भावुक, हलमा उत्साहजनक उपस्थिति

काठमाडौं :

साउन १ गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौँथली’ ले पहिलो दिनदेखि नै सुखद र सकारात्मक दर्शक प्रतिक्रिया (वर्ड अफ माउथ) पाएको छ। फिल्मको प्रतिक्रिया बुझ्न विभिन्न हलहरूमा पुगेका निर्माता, निर्देशक तथा कलाकारहरूलाई दर्शकले एउटा उत्कृष्ट र सन्देशमूलक फिल्म हेर्न पाएको भन्दै धन्यवाद दिएका छन्।

विशेष गरी दर्शकहरूले फिल्मको मर्मस्पर्शी विषयवस्तु, कलाकारहरूको जीवन्त अभिनय र समाजलाई दिएको सकारात्मक सन्देशको खुलेर प्रशंसा गरेका छन्। काठमाडौंको न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा फिल्म हेर्न दर्शकको उल्लेखनीय उपस्थिति रहेको थियो, जहाँ प्रदर्शनपछि धेरै दर्शकहरू भावुक बनेका देखिन्थे। उनीहरूले ‘गौँथली’ पात्रको संघर्ष र छोरीको शिक्षाको महत्त्वले आफूहरूलाई गहिरो रूपमा छोएको प्रतिक्रिया दिएका छन्।

चलचित्रका निर्देशक डा. कपिल रिजालले दर्शकबाट प्राप्त अभूतपूर्व प्रतिक्रियाले सम्पूर्ण टिम उत्साहित बनेको बताए। उनले भने, “हामी बिहानदेखि विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छौँ। हामीले फिल्ममार्फत दिन खोजेको सन्देश दर्शकले आत्मसात् गर्नुभएको छ। ‘गौँथली’ को संघर्षलाई उहाँहरूले महसुस गर्नुभएको छ, यही नै हाम्रो सफलता हो।”

त्यस्तै, फिल्मका अभिनेता अरुण क्षेत्रीले दर्शकले आफ्नो पात्रलाई अत्यधिक माया गरेको खुसी साटे। उनले फिल्ममा आफूले बोलेको चर्चित संवाद ‘गाईको घ्यू, आई लभ यू’ दोहोर्‍याउँदै दर्शकले फिल्मको प्रशंसा गरेको उल्लेख गरे। “यो मेरो करिअरकै सबैभन्दा चुनौतीपूर्ण पात्र थियो। दर्शकहरू पात्रसँग भावनात्मक रूपमा जोडिनुभएको छ, यही नै हाम्रो उपलब्धि हो,” उनले भने।

चलचित्रको शीर्ष भूमिका (टाइटल क्यारेक्टर) मा रहेकी अभिनेत्री सिम्रन खड्काले पनि दर्शकले आफूलाई आफ्नै छोरीझैँ माया गर्दै पात्रको पीडा र सफलतासँग भावनात्मक रूपमा जोडिएको प्रतिक्रिया दिएको बताइन्। उनले भनिन्, “धेरैले ‘गौँथली’ को संघर्ष आफ्नै जीवनसँग मिलेको महसुस गर्नुभएको छ। यही प्रतिक्रिया हाम्रो लागि सबैभन्दा ठूलो पुरस्कार हो।”

बेलायतमा दन्त चिकित्सकका रूपमा कार्यरत निर्देशक डा. कपिल रिजाल पछिल्ला केही वर्षदेखि नेपाली फिल्म निर्माण तथा निर्देशनमा निरन्तर सक्रिय छन्। उनका अनुसार चिकित्सकीय अनुभवले नै उनलाई कथावस्तु छनोटमा प्रभाव पारेको हो। यसअघि उनले निर्देशन गरेको व्यावसायिक चलचित्र ‘ह्यारीकी प्यारी’ मा ‘स्पर्म डोनेसन’ जस्तो संवेदनशील विषय उठाइएको थियो भने यसपटक ‘गौँथली’ मा ‘माइल्ड अटिजम’ भएका व्यक्तिको जीवन र ग्रामीण समाजमा छोरीको शिक्षाको महत्त्वलाई मुख्य मुद्दा बनाइएको छ।

फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायतका स्थापित कलाकारहरूको सशक्त अभिनय रहेको छ।

वरिष्ठ चिकित्सक डा. भोला रिजालको मौलिक कथामा आधारित यस फिल्मको पटकथा तथा संवाद निर्देशक डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्। घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको यस फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले देशभर व्यावसायिक रूपमा वितरण गरेका हुन्।

Leave A Reply

Your email address will not be published.