काठमाडौं :
ग्लोबल ग्ल्यामर भेन्चरले ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’ का लागि आधिकारिक रूपमा आवेदन खुला गरेको छ। आयोजक संस्थाले काठमाडौंको सोल्टी होटलमा आज (शुक्रबार) एक विशेष कार्यक्रमको आयोजना गर्दै यस वर्षको प्रतियोगिताको अडिसन प्रक्रिया औपचारिक रूपमा सुरु भएको जानकारी दिएको हो।
यस वर्षको प्रतियोगिता ‘Perfect As You Are’ (तपाईं जस्तो हुनुहुन्छ, उत्कृष्ट हुनुहुन्छ) भन्ने नारासहित आयोजना हुँदैछ। आयोजकका अनुसार नेपाललाई विश्वमञ्चमा प्रतिनिधित्व गर्न सक्ने प्रतिभाशाली, बौद्धिक, आत्मविश्वासी तथा नेतृत्वदायी महिलाको खोजी गर्नु नै प्रतियोगिताको मुख्य उद्देश्य हो।
मिस युनिभर्स नेपालकी नेसनल डिरेक्टर संगीता पुरीले यस वर्षका लागि आफ्नो टिमले कार्यक्रमलाई अझ भव्य बनाउन विशेष तयारी गरेको बताइन्। पुरीका अनुसार प्रतियोगिताको ग्राण्ड फिनाले आगामी ६ सेप्टेम्बरमा सोल्टी होटलमै आयोजना हुनेछ।
त्यस्तै, आयोजक संस्थाकी सीईओ सबि पुरीले यस पटकको संस्करणमा विवाहित र अविवाहित दुवै महिलाले सहभागिता जनाउन सक्ने जानकारी दिइन्। यसका साथै नेपालबाहिर रहेका गैरआवासीय नेपाली (एनआरएन) महिलाहरूका लागि पनि प्रतियोगितामा सहभागी हुने बाटो खुला गरिएको छ।
मिस युनिभर्स नेपाल २०२५ की विजेता सान्या अधिकारीको ऐतिहासिक कार्यकालपछि सुरु भएको यो नयाँ संस्करणले देशभर तथा विदेशमा रहेका महत्वाकांक्षी नेपाली युवतीहरूलाई आवेदन दिन आह्वान गरेको छ। यस प्रतियोगिताको कोरियोग्राफी फेसन कोरियोग्राफर प्रशान्त ताम्राकारले गर्नेछन्।
यस संस्करणमा प्रतियोगीहरूको व्यक्तिगत पहिचान, सामाजिक वकालत (सोसल एड्भोकेसी) र नेतृत्व क्षमतालाई विशेष प्राथमिकता दिइनेछ। प्रतियोगितामार्फत नेपालमा सौन्दर्य प्रतियोगिताको स्तरलाई थप उचाइमा पुर्याउने लक्ष्य आयोजकले राखेको छ।
यस वर्षको प्रतियोगिताको मुख्य प्रायोजक (टिटल स्पोन्सर) मा विद्युतीय सवारीसाधन ब्रान्ड ‘दिपल’ रहेको छ। दिपलका सीईओ विवेक सिकारियाले मिस युनिभर्स नेपाल जस्तो प्रतिष्ठित मञ्चसँग जोडिन पाउनु आफ्नो ब्रान्डका लागि खुसीको कुरा रहेको बताए।
त्यसैगरी, नेपालकै अग्रणी प्रविधि ब्रान्ड ‘एक्स–एज’ र ‘अमृत शुद्ध सूर्यमुखी तेल’ सह-प्रायोजकका रूपमा आबद्ध भएका छन्। सहभागीहरूको व्यक्तिगत तथा व्यावसायिक विकासका लागि उत्कृष्ट वातावरण निर्माण गर्न सबै साझेदार संस्थाहरू प्रतिबद्ध रहेका छन्।
इच्छुक तथा योग्य युवतीहरूले मिस युनिभर्स नेपालको आधिकारिक प्लेटफर्म वा मोबाइल एपमार्फत आफ्नो आवेदन दर्ता गराउन सक्नेछन्।