काठमाडौं :
साउन १ गतेबाठ हलमा प्रदर्शन भएको नेपाली फिल्म ‘गौंथली’ले घरेलु बक्सअफिसमा उछाल कमाइ गरिरहेको छ। फिल्मले प्रदर्शनको १६ औं दिनसम्म अर्थात शनिबारसम्म १३ करोड ५६ लाख ३५ हजार १३ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
सोही अवधिसम्म यो फिल्म हेर्ने दर्शक पाँच लाख नजिक पुगेका छन्। चलचित्र विकास बोर्डको बक्स अफिसअनुसार यो फिल्मको ४ लाख ९२ हजार ६५० वटा टिकट बिकेका छन्।
डाक्टर कपिल रिजालको निर्देशनमा निर्माण भएको यस फिल्ममा सिम्रन खड्का,अरूण क्षेत्री,सीतादेवी तिमिल्सिना,मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, संजोग रसाइली,लक्ष्मीनाथ तिमल्सेना,राजेन्द्र नेपाली,बाल कलाकारहरू अंशु ओली र राजकुमार नेपाली लगायतको अभिनय छ।
डाक्टर भोला रिजालको कथा रहेको यस फिल्ममा निर्देशक रिजालकै पटकथा तथा संवाद रहेको छ। भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मको कार्यकारी निर्माता सरला रिजाल छिन्। निर्माताको रूपमा सुमन गिरी र डाक्टर कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह(निर्माताको रूपमा रहेका छन्। शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको फिल्ममा पाश्र्व संगीत एलिस कार्कीको छ।
फिल्मलाई हरि हुमागाईंले खिचेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका छन्। गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको फिल्ममा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी छ। यो फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफडी कम्पनीले वितरण गर्नेछन्। डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।