सुचना, समाचार र मनोरन्जन

जेनजी आन्दोलनका कारण रोकिएको ट्राफिक सचेतना कक्षा पर्सिदेखि पुनः सञ्चालन हुँदै

काठमाडौँ,

उपत्यका ट्राफिक प्रहरी कार्यालयले पर्सि मङ्गलवारदेखि ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन गर्ने भएको छ ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोडका कारण क्षति पुगेका भौतिक संरचना मर्मत गरी पर्सिदेखि कक्षा सञ्चालनमा ल्याउन लागेको कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उहाँका अनुसार मङ्गलवारदेखि भौतिक कक्षा सञ्चालन भए पनि अनलाइन कक्षा भने तत्काल शुरू हुने छैन । नागरिक एपमै क्षति पुगेकाले यो सेवा अहिलेका लागि बन्द रहने सुवेदीले बताए ।

यसअघि कार्यालयले ट्राफिक नियम उल्लङ्घन गरेपछि लिनुपर्ने सचेतना कक्षा गएको असार २९ गतेदेखि अनलाइनबाट पनि सञ्चालन गर्न थालेको थियो । सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन बिहान ९ बजेदेखि ४ बजेसम्म र शुक्रवार दिउँसो साढे २ बजेसम्म कक्षा सञ्चालन हुने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । शनिवार भने १० बजेदेखि १२ बजेसम्म २ वटा कक्षा सञ्चालन हुनेछन् ।

जाँड–रक्सी खाएर गाडी चलाउने, तीव्र गतिमा गाडी चलाउने, बत्ती तथा लेन अनुशासन पालना नगर्ने चालकले सचेतना कक्षा लिनुपर्ने व्यवस्था छ ।

Leave A Reply

Your email address will not be published.