सुचना, समाचार र मनोरन्जन

घिरिङ पोखरा सम्पर्क मञ्चको छैटौँ वार्षिक उत्सव सम्पन्न

पोखरा,

 घिरिङ पोखरा सम्पर्क मञ्चको छैटौँ वार्षिक उत्सव तथा रक्त र दन्त परीक्षण कार्यक्रम पोखरामा सम्पन्न भएको छ। सेकुवा घरमा आयोजित कार्यक्रममा घिरिङबाट पोखरा आई विभिन्न पेशा, व्यवसाय तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूको सहभागिता रहेको थियो।

घिरिङवासीलाई एकताबद्ध गर्दै सामाजिक सेवा, स्वास्थ्य, शिक्षा तथा जन्मभूमि घिरिङको विकासमा योगदान पुर्‍याउने उद्देश्यले स्थापित मञ्चले वार्षिक उत्सवका अवसरमा स्वास्थ्य परीक्षण, सदस्य सम्मान तथा मानवीय सहयोगलगायतका कार्यक्रम आयोजना गरेको हो।

मञ्चका अध्यक्ष मानबहादुर आले मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा प्रमुख अतिथि तथा यूआरएल न्यूरोड पोखराका अध्यक्ष ठाकुरप्रसाद पन्त विशिष्ट अतिथि रहनुभएको थियो।

कार्यक्रममा मञ्चका प्रथम उपाध्यक्ष जीवनप्रकाश श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै घिरिङ गाउँपालिकाले आयोजना गर्ने महत्वपूर्ण कार्यक्रममा घिरिङ पोखरा सम्पर्क मञ्चको सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभयो। पोखरामा रहेका घिरिङवासीलाई जन्मभूमिसँग जोड्दै गाउँको विकासमा उनीहरूको भूमिका बढाउन गाउँपालिकाले वार्षिक बजेटमार्फत समेत मञ्च र सदस्यलाई समेट्ने गरी कार्यक्रम तथा योजना ल्याउनुपर्ने उहाँको धारणा थियो।

९० जनाको स्वास्थ्य परीक्षण

वार्षिक उत्सवका अवसरमा आयोजित स्वास्थ्य शिविरमा ९० जनाले रक्त तथा दन्त परीक्षण गराएका थिए। मञ्चले सामाजिक सेवासँगै स्वास्थ्य क्षेत्रमा पनि आफ्नो भूमिका विस्तार गर्दै आएको कार्यक्रममा जानकारी दिइयो।

त्यस्तै, मञ्चका १९ जना आजीवन सदस्यलाई सम्मान गरिएको थियो। सदस्य नारायणप्रसाद श्रेष्ठकी श्रीमती श्रीमाया श्रेष्ठको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले मञ्चको तर्फबाट तथा व्यक्तिगत सहयोगसहित रु. ३२ हजार १४५ आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो।

घिरिङको विकासमा सहकार्य आवश्यक

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले घिरिङको विकास र समृद्धिका लागि पोखरा तथा देशका विभिन्न स्थानमा रहेका घिरिङवासीसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो।

घिरिङ प्राकृतिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले सम्भावनायुक्त क्षेत्र रहेको उल्लेख गर्दै उहाँले पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा रोजगारी सिर्जनामा सबै पक्षको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।

गाउँमै रहेका नागरिकसँगै पोखरा तथा देश–विदेशमा रहेका घिरिङवासीको ज्ञान, सीप, अनुभव, प्रविधि र लगानीलाई जन्मभूमिको विकाससँग जोड्न सके घिरिङको विकासले थप गति लिने उहाँको भनाइ थियो।

स्वास्थ्य क्षेत्रमा सहकार्य निरन्तर रहने

विशिष्ट अतिथि ठाकुरप्रसाद पन्तले घिरिङ पोखरा सम्पर्क मञ्च र यूआरएलबीच हुँदै आएको सहकार्यलाई आगामी दिनमा समेत निरन्तरता दिइने बताउनुभयो। मञ्चका सदस्यका लागि स्वास्थ्य परीक्षणमा छुट दिने सम्बन्धमा भएको सम्झौता नवीकरण गरिएको जानकारी दिँदै उहाँले स्वास्थ्य तथा सामाजिक क्षेत्रमा थप सहकार्य गर्न आफूहरू इच्छुक रहेको बताउनुभयो।

घिरिङ–पोखरा सम्बन्ध थप प्रगाढ बनाउनुपर्ने

कार्यक्रममा मञ्चका सल्लाहकार तारामाया थापा र सूर्यकुमार श्रेष्ठले मञ्चले गर्दै आएका सामाजिक तथा मानवीय सेवाका कार्यको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्न शुभकामना दिनुभयो।

घिरिङका अगुवा सुमनकुमार श्रेष्ठले घिरिङ र पोखराबीचको सम्बन्ध ऐतिहासिक तथा भावनात्मक रूपमा जोडिएको उल्लेख गर्दै यो सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्ने बताउनुभयो।

मञ्चका सल्लाहकार झकवीर थापाले सम्पर्क मञ्चलाई सबै जातजाति, समुदाय तथा वर्गलाई समेट्ने साझा संस्थाका रूपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो। घिरिङबाट पोखरा आई बसोबास गर्ने सबैलाई साझा रूपमा जोड्ने संस्था आवश्यक रहेको उहाँले बताउनुभयो।

घिरिङ पोखरा नेवा गुठीका उपाध्यक्ष घनश्याम श्रेष्ठ, नेपाल मगर संघ इकाई गगनगैडाका अध्यक्ष बहादुरसिंह थापालगायतले पनि घिरिङवासीबीच सामाजिक एकता र आपसी सहयोगलाई बलियो बनाउँदै जन्मभूमिको विकासमा योगदान गर्नुपर्नेमा जोड दिनुभयो।

पर्यटन र स्थानीय सम्भावनाको प्रवर्द्धनमा जोड

कार्यक्रममा घिरिङको प्राकृतिक सौन्दर्य, ग्रामीण जीवनशैली, मौलिक संस्कृति, धार्मिक तथा ऐतिहासिक सम्पदा र स्थानीय परम्परालाई पर्यटनसँग जोड्नुपर्ने विषयमा समेत चर्चा गरिएको थियो।

घिरिङका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको व्यवस्थित प्रचार–प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने र त्यसबाट स्थानीयस्तरमा रोजगारी तथा आर्थिक गतिविधि बढाउन सकिने सहभागीहरूले बताएका थिए।

स्थानीय कृषि उत्पादन, घरेलु तथा हस्तकलाका सामग्री, मौलिक संस्कृति र ग्रामीण पर्यटनको प्रवर्द्धनमार्फत घिरिङको आर्थिक विकासमा योगदान पुर्‍याउन सकिनेमा समेत जोड दिइयो।

कार्यक्रमको सञ्चालन मञ्चका सचिव पूर्णकुमार श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा मञ्चका पदाधिकारी तथा सदस्य, विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

छैटौँ वार्षिक उत्सवले पोखरामा रहेका घिरिङवासीलाई साझा मञ्चमा जोड्नुका साथै जन्मभूमि घिरिङको विकास, पहिचान, संस्कृति, पर्यटन र स्थानीय सम्भावनालाई प्रवर्द्धन गर्न सामूहिक रूपमा अघि बढ्ने प्रतिबद्धतालाई थप बलियो बनाएको छ।

Leave A Reply

Your email address will not be published.