सुचना, समाचार र मनोरन्जन

घुन्सा हेलिकप्टर दुर्घटनाको १९ वर्ष, दिवंगत संरक्षणवीरहरूको सम्झना

काठमाडौं :

ताप्लेजुङको घुन्सास्थित हेलिकप्टर दुर्घटनामा ज्यान गुमेको १९ वर्ष पूरा भएको छ। सो दुर्घटनाको सम्झनामा असोज ७ गतेलाई हरेक वर्ष राष्ट्रिय संरक्षण दिवसका रूपमा मनाइँदै आएको छ।

यस वर्ष पनि राजधानीमा जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले स्मृति कार्यक्रम आयोजना गर्‍यो । कार्यक्रममा सहभागीहरूले एक मिनेट मौन धारण, फोटोमा माल्यार्पण र दीप प्रज्वलन गरेर दिवंगतहरूको योगदानलाई स्मरण गरे। कोषका अध्यक्ष पुष्पराज पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कानुन व्यवसायी, समाजसेवी तथा विभिन्न संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कोषका अध्यक्ष पाण्डेले रामकोटस्थित दुर्घटनामा निधन भएका २४ जनाको अर्धकदको शालिक स्थापना गरिएको जानकारी दिँदै पर्याप्त बजेट अभावले ‘संरक्षण स्मृति पार्क’को निर्माण कार्य अघि बढ्न नसकेको बताए।

वि.सं. २०६३ असोज ७ गते विश्व वन्यजन्तु कोष नेपालद्वारा आयोजित कञ्चनजंगा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण कार्यक्रममा सहभागी भएर फर्किने क्रममा सो हेलिकप्टर दुर्घटना भएको थियो। दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई, भूगोलविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, सचिव डा. दामोदर पराजुली, महानिर्देशक नारायण पौडेललगायत २४ जनाले ज्यान गुमाएका थिए।

Leave A Reply

Your email address will not be published.