सुचना, समाचार र मनोरन्जन

अभिनेता गोविन्दा र श्रीमती सुनिता आहूजाको सम्बन्ध विच्छेदको प्रक्रिया अगाडि, अदालतमा डिभोर्स मुद्दा दर्ता

मुंबई :

भारतीय अभिनेता गोविन्दा र उनकी श्रीमती सुनिता आहूजाबीच लामो समयदेखि चलेको पारिवारिक तनाव अब सम्बन्धविच्छेदको दिशामा उन्मुख भएको छ। भारतीय मिडियाका अनुसार सुनिताले गोविन्दाविरुद्ध डिभोर्सको मुद्दा दर्ता गरिसकेकी छन्।

न्यूज पोर्टल हाउटरफ्लाईका अनुसार, सुनिताले बान्द्रास्थित फेमिली कोर्टमा हिन्दू विवाह ऐन, १९५५ को धारा १३(१)(i), (ia), (ib) अन्तर्गत सम्बन्धविच्छेदका लागि निवेदन दिएकी हुन्। उनले गोविन्दामाथि अफेयर, मानसिक यातना लगायतका आरोप लगाएकी छन्। अदालतमा मुद्दा डिसेम्बर २०२४ मै दर्ता गरिएको जनाइएको छ।

अदालतले गोविन्दालाई मे २५ मा छलफलका लागि बोलाएको थियो, तर उनी उपस्थित भएका थिएनन्। सुनिता भने निरन्तर उपस्थित भइरहेकी छन्। गोविन्दा र सुनिताले जुन २०२५ मा सम्बन्ध सुधार गर्ने प्रयास गरे पनि त्यो सफल हुन सकेन।

सम्बन्ध बिग्रनुको मुख्य कारणका रूपमा एक मराठी अभिनेत्रीको गोविन्दाको जीवनमा प्रवेशलाई बताइएको छ। सुनिताले हालै युट्युब च्यानल सुरु गरेकी छन्, जसमा उनले पहिलो भ्लगमा महालक्ष्मी मन्दिरको दर्शन गर्दै डिभोर्सको विषयमा भावुक हुँदै प्रतिक्रिया दिएकी थिइन्। उनले भनिन्, “परिस्थिति जस्तोसुकै भए पनि, परिवार तोड्न खोज्ने जोकोहीलाई पनि माताले छोड्नुहुने छैन।”

गोविन्दा र सुनिताको ११ डिसेम्बर १९८७ मा विवाह भएको थियो। दुई सन्तान भएका उनीहरूको वैवाहिक सम्बन्ध झण्डै चार दशकपछि टुट्ने अवस्थामा पुगेको हो।

सुनिताको नेपालसँग पनि विशेष सम्बन्ध रहेको छ। उनकी आमा सावित्री शर्मा नेपाली मूलकी हुन्, जसका कारण सुनिता नेपाली भाषा बुझ्न र बोल्न सक्षम छन्। पाँच वर्षअघि पशुपतिनाथ मन्दिर दर्शनका क्रममा उनले नेपाली सञ्चारकर्मीहरूसँग नेपालीमै संवाद गरेकी थिइन्। गोविन्दाले पनि पत्नीका कारण नेपाललाई ससुराली देश भनेर सम्बोधन गर्दै आएका छन्।

Leave A Reply

Your email address will not be published.