रौतहट :
रौतहटको गौर नगरपालिकामा सुटकेसभित्र कोचिएको अवस्थामा एक अन्दाजी ३० वर्षीया महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शव गौर नगरपालिका–९ स्थित मुडवलवा गेट नजिकै सडक छेउमा फेला परेको हो।
शनिबार राति बेवारिसे अवस्थामा सडक किनारमा भेटिएको डोरीले बाँधिएको सुटकेस प्रहरीले आइतबार बिहान खोलेपछि महिलाको शव फेला परेको हो। शव पूर्ण रूपमा सुटकेसभित्र कोचिएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजन कार्कीले जानकारी दिए।
हालसम्म मृतक महिलाको पहिचान खुलेको छैन। प्रहरीले शवको मुचुल्का तयार गरी प्रादेशिक अस्पताल गौरमा पोस्टमार्टमका लागि पठाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न प्रहरीले सुटकेस फेला परेको स्थान नजिकै रहेको एक विद्यालयको सीसीटीभी फुटेज संकलन तथा विश्लेषण गरिरहेको छ। घटनाको प्रकृति र दोषी पत्ता लगाउन अनुसन्धान तीव्र पारिएको प्रहरीको जानकारी दिएको छ।