सुचना, समाचार र मनोरन्जन

गीतकार गोपाल प्रसाद थपलियाको सिर्जनामा ‘स्रष्टा र सिर्जना’ कार्यक्रम सम्पन्न

काठमाडौं :

गीतकार सङ्घ नेपालको आयोजनामा गीतकार गोपाल प्रसाद थपलियाको सिर्जनामा “स्रष्टा र सिर्जना–चर्चा र परिचर्चा” कार्यक्रम सम्पन्न भएको छ। गीतकार गोपाल प्रसाद थपलियाको सिर्जनामा “स्रष्टा र सिर्जना–चर्चा र परिचर्चा” कार्यक्रम गीतकार सङ्घ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाको सभापतित्व तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति गंगा प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा विशिष्ट अतिथिहरुमा गीतकार सङ्घ नेपालका सल्लाहकार वरिष्ठ कवि तथा गीतकार एसपी कोइराला, संघका पूर्व अध्यक्ष वरिष्ठ गीतकार चुडामणि देवकोटा, हिमालय टाइम्सका सम्पादक तथा समालोचक पुरुषोत्तम दाहाल, समाजसेवी तथा स्रष्टाका जीवनसाथी सुशीलादेवी थपलिया, सुपुत्र गौरव प्रसाद थपलिया,भाइ बालानन्द थपलियाको उपस्थिति रहेको थियो। स्रष्टाका परिवारका अन्य सदस्यहरुका साथै गीत, संगीत क्षेत्र, साहित्य क्षेत्र र संचार क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

गीतकार गोपाल प्रसाद थपलियाका सिर्जनामा “स्रष्टा र सिर्जनाको बारेमा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिव प्रा.जगत प्रसाद उपाध्याय प्रमुख वक्ताको रुपमा रहेर चर्चा परिचर्चा गरिएको थियो। वक्ता उपाध्यायले गीतकार थपलिया एक सशक्त योद्धा भएको र लोकतान्त्रिक गणतन्त्रको पक्षमा वकालत गर्दा घाइतेसमेत हुन पुगेको उल्लेख गर्दै राजनीतिबाट विक्षिप्त भएपछि गीत सिर्जनामा लागेको बताए। उनका गीतहरुमा मुलुकको भ्रष्टाचार, अत्याचार, सामन्ती संस्कारबाट जनताले पाएको सास्तीलाई उल्लेख गरिएको बताए ।

कार्यक्रममा विशिष्ट अतिथि पुरुषोत्तम दाहालले मन्तव्य राख्दै गोपाल प्रसाद थपलियाको योगदानको चर्चा गरे। पत्रकारितामा उचाइ कायम गरेका थपलियाले देशको राजनीतिक परिवर्तनहरुलाई नजिकबाट महसुस गरेर तीनै अराजक गतिविधिबाट दिग्दारी भएर राजनीति छाडेको बताए। उनले देशको वर्तमान परिवेश,राजनीतिक गतिविधिले निम्त्याएको बेरोजगारीलाई गीत सिर्जनामा ढालेको बताए। थपलिायका गीतहरुमा परिवर्तनशील आवाज बुलन्द भएको बताउँदै दाहालले खराब राजनीतिबाट मुलुकले दुःख पाएको बताए।

त्यस्तै वरिष्ठ पत्रकार एवं गीतकार गोपाल प्रसाद थपलियाले आफूले देशको परिवर्तनका लागि दिएको योगदानलाई पछिल्लो समयका राजनीतिक गतिविधिले बिर्सिएको बताउँदै देशमा रहेका राजनीतिक दलहरुले विदेशीको इशारामा देशलाई बर्बादीमा लगेको बताए। आफ्ना सिर्जनाहरु पनि देशको परिवर्तनको पक्षमा र भ्रष्टाचारीहरुको विरोधमा रहेको बताए।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति गंगाप्रसाद उप्रेतीले गीतकार गोपाल प्रसाद थपलियाको पत्रकारिताको उचाइसँगै गीत सिर्जनामा पनि अब्बल देखिएको बताए। उप्रेतीले देशको परिवर्तनमा उल्लेख्य भूमिका निर्वाह गर्दा पनि सरकारले वेवास्ता गरेको हुँदा पत्रकारिता छाडेर साहित्य सिर्जनामा निरन्तर सक्रिय हुनुले साहित्यक्ष क्षेत्रले फरक र परिवर्तनकामी सर्जक पाएको बताए।

२०२६ साल देखि पत्रकारिता यात्रा सुरु गरेका थपलियालाई नेपालको पत्रकारिता क्षेत्रमा पत्रकारिताको भिष्मपितामह समेत भन्ने गरिन्छ। उनले देश प्रेम, देश भक्ति, जागरण र चेतनाममूलक गीतहरु सिर्जना गरेका छन्। करिब १५० भन्दा बढी गीत सिर्जना गरेका थपलियाका २५ गीत रेकर्ड भइसकेका छन्। सोही कार्यक्रममा थपलियाद्वारा रचित १२ गीतको श्रव्यदृष्य प्रस्तुत गरिएको थियो ।गीतकार संघ नेपालका उपाध्यक्ष रमेश कोइरालाले कार्यक्रम संचालन गरेका थिए।

गीतकार सङ्घ नेपालको अध्यक्ष बसन्त वित्यासी थापाले आफ्नो मन्तव्य सहित कार्यक्रमको समापन गर्दै स्रष्टाहरुको हक अधिकार एवं परिवर्तनको पक्षमा सकारात्मक भूमिका निर्वाह गर्नमा निरन्तर लागिरहेको बताए। उनले स्रष्टा गोपाल प्रसाद थपलियाको जीवनको उत्तराद्र्धमा पनि सक्रिय सिर्जनात्मक जीवन बिताउनुभएकोमा सुस्वास्थ्य एवं दीर्घजीवनको समेत कामना गरे ।

Leave A Reply

Your email address will not be published.