सुचना, समाचार र मनोरन्जन

पोखरा ट्रेड मलमा तीन दिने ‘ग्रान्ड फेस्ट २०८३’ सुरु

पोखराको चर्चित व्यापारिक केन्द्र पोखरा ट्रेड मलमा आजदेखि तीन दिने ‘ग्रान्ड फेस्ट २०८३’ सुरु भएको छ।

१४औँ वार्षिकोत्सवको अवसरमा आयोजित यो फेस्टिभल साउन २२ देखि २४ गतेसम्म सञ्चालन हुनेछ। फेस्टिभलमा किनमेल, मनोरञ्जन र स्वादिष्ट परिकारको संगम हुने आयोजकले जनाएको छ।

शुक्रबारको मुख्य आकर्षणका रूपमा लोकप्रिय गायक दीपक थापाको विशेष सांगीतिक प्रस्तुति रहेको थियो। साथै अन्य कलाकारहरूको प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम र परिवारसहित रमाउन मिल्ने विभिन्न गतिविधि पनि समावेश गरिएका छन्।

फेस्टिभल अवधिभर मलभित्र रहेका विभिन्न ब्रान्डका पसलहरूमा विशेष छुट र आकर्षक सेल अफर उपलब्ध हुनेछन्। स्थानीयदेखि अन्तर्राष्ट्रिय स्वादका परिकारसहितको फुड कोर्ट पनि सञ्चालनमा रहनेछ।

पोखरा ट्रेड मलका अध्यक्ष दीपककुमार मुल्मीले यो फेस्टिभलले ग्राहकलाई किनमेलसँगै मनोरञ्जनको अनुभव दिलाउने र स्थानीय व्यापारसँगै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण र उत्कृष्ट व्यवसायी सम्मान कार्यक्रम पनि फेस्टिभलमा समावेश गरिएको छ।

आधुनिक सुविधा र ५०० भन्दा बढी व्यावसायिक सटर रहेको पोखरा ट्रेड मलले सम्पूर्ण पोखरेली तथा आगन्तुकलाई आजदेखि सुरु भएको ‘ग्रान्ड फेस्ट २०८३’मा सहभागी भई किनमेल, मनोरञ्जन र उत्सवको भरपुर आनन्द लिन आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.