काठमाडौं :
फिल्म ‘बा : एक योद्धा’समावेश गीत रिलिज भएको छ। निर्माण पक्षले शुक्रबार पारेर फिल्ममा समावेश लोकलयको गीत ‘नभन्नू कोहीसित’ सार्वजनिक गरेको हो।
सार्वजनिक भएको गीतमामा फिल्मका निर्देशक हरि लम्सालको शब्द तथा संगीतमा तयार भएको छ। गीतमा समीक्षा अधिकारी र सागर आलेको स्वर दिएका छन्। नेपाली मौलिक पञ्चेबाजाको धुनमा तयार पारिएको यो गीतले नेपाली विवाह र उत्सवको झझल्को दिन्छ । सार्वजनिक भिडियोमा सुन्दर युवती देखेर युवकले गरेको घरजमको आग्रह र युवतीले गरेको अस्वीकार छ । युवकले जीवन साथी बन्न आग्रह गरे पनि युवतीले भने बुवाआमाले खोजेको केटासँग विवाह गर्ने बताएकी छन् ।
सरकारी जागिरको प्रलोभन देखाएपछि युवतीले घमन्डको भारी बोकेर बसेको व्यक्तिसँग विवाह गर्न नसक्ने बताएसँगै गीत सकिन्छ। डान्सिङ व्याटर्नमा पञ्चेबाजामा तयार गरिएको गीतको भिडियोमा केकी अधिकारी र करण साहको नृत्य छ।यसअघि यो सिनेमा शीर्ष गीत ‘चढेको बुई नबिर्स, टेकेको भुइँ नबिर्स’ सार्वजनिक गरिएको थियो । जसको धेरैले खुलेर तारिफ गरेका थिए।
चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गते रिलिज हुँदैछ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा स् एक योद्धा’को मुख्य कथा रहेको बताइएको छ।यो चलचित्रमा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको छ । नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार र गायक पनि हुन् । फिचर सिनेमामा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन्।
चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले रहेका छन्। शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन्। ‘बा स् एक योद्धा’ आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।