काठमाडौं :
विश्वप्रसिद्ध गजलकार गुलाम अलीका तीन पुस्ता—उस्ताद गुलाम अली खान, छोरा आमिर गुलाम अली खान र नाति नाजिर आमिर गुलाम अली खान—को स्वरमा नेपाली गजल गीत ‘गजल उनकै गीत उनकै’ सार्वजनिक गरिएको छ। मंगलबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा आयोजित कार्यक्रममा गीत भिडियोसहित सार्वजनिक गरिएको हो।
मनोज खड्काको शब्द र मिलन मोक्तानको संगीत रहेको गीतको एरेन्ज किरण खरेलले गरेका छन्। भिडियोमा अन्तर्राष्ट्रिय नेपाली मोडल दीपक घिमिरे र मिसेस ब्युटिक्विन नेपाल २०२५ विजेता वर्षा कुँवरको अभिनय देख्न सकिन्छ।
संगीतकार मिलन मोक्तानका अनुसार केही समयअघि नेपाल आएका गुलाम अलिले आफ्ना नेपाली श्रोता–दर्शकका लागि विशेषरूपमा यो गीत उपहारस्वरूप दिएका हुन्। गीतले व्यक्तिको मनपर्ने विषयमा उब्जिएको भावनालाई चित्रण गरेको छ भने भिडियोमा रोमान्टिक जोडीको कथा प्रस्तुत गरिएको छ। मिलन मोक्तानकै निर्देशनमा बनेको भिडियोमा सुवास लोकेन्द्रको छायांकन र अर्जुन खड्काको सम्पादन रहेको छ।