सुचना, समाचार र मनोरन्जन

खेमनाथ दाहालको ‘योद्धा’ काव्यका श्लोकलाई गीतमा पुनर्जीवित

काठमाडौं :

महाकाव्यकार खेमनाथ दाहालले २०६० सालमा प्रकाशित काव्य ‘योद्धा’ का श्लोक संगीतसहित पुनर्जीवित भएका छन् । मंगलबार राजधानीमा मिलापको आयोजना गरिएको विशेष समारोहमा गीतको भिडियो सार्वजनिक गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि प्रा. शैलेन्द्रु प्रकाश नेपालले गीत विमोचन गर्दै दाहालका सिर्जनाले भाषा, साहित्य, कला र संस्कृतिको संगम प्रस्तुत गर्ने टिप्पणी गरे। उनले ‘योद्धा’ काव्यका श्लोक अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

गीतमा स्वर दिएका कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले कविताका गहिरा श्लोकलाई गीतमा ढाल्नु चुनौतीपूर्ण भए पनि फलदायी रहेको बताए । उनले यसअघि दाहालकै ‘स्वेतपत्र’ महाकाव्यबाट पनि गीत तयार पारेको स्मरण गराए।

समारोहमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष राधेश्याम लेकाली, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, गजलकार घनेन्द्र ओझालगायत वक्ताहरूले दाहाल र श्रेष्ठको सहकार्यले नेपाली संगीत र साहित्यमा नयाँ आयाम थपेको धारणा राखे ।

राजु कार्कीको संगीत संयोजनमा बनेको गीतमा राजाबाबु थारू, दिल समर्पण र एस.बी. मुस्कानको संगीत सञ्चयक रहेको छ । प्रकाश मिश्रले संगीत सम्पादन गरेका हुन् । कृष्ण भुसाल निर्देशित भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ, रमेश दाहाल, कृष्ण भुसाल, गीता अधिकारी र मेनका खड्काले अभिनय गरेका छन् ।

कार्यक्रम वरिष्ठ संगीतकार राजु सिंहको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.