सुचना, समाचार र मनोरन्जन

माघ महिनामा मात्रै गुल्मीका विभिन्न १६ ठाउँमा आगोलागी

गुल्मी/

सुख्खा मौसम सुरु भएसँगै गुल्मीमा आगलागीका घटना बढेका छन् । जिल्लामा माघ महिनामा मात्रै विभिन्न १६ ठाउँमा आगोलागी भएको प्रहरीको तथ्यांक छ ।

एक महिनाको अवधिमा विभिन्न सामुदायिक वनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आगलागीबाट एउटा घर, ३ वटा गोठ जगेको तथ्याङक प्रहरीको छ । त्यस क्रममा २ वटा पशु चौपाया जलेका छन् । चारवटा घाइते भएका छन् ।

आगलागीमा परेर एक जना मानिस पनि घाइते भएको प्रहरीले जनाएको छ । जिल्लामा विभिन्न स्थानका १६ ठाउँमा लागेको आगो नियन्त्रण गर्न ५१ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताए ।

गर्मी सुरु नहुँदै यतिधेरै ठाउँमा आगलागी हुनु यस वर्षको सुख्खा सिजनका लागि ठूलो चुनौतीको विषय बन्ने देखिन्छ । जिल्लामा अघिल्ले वर्ष गुल्मीका १२ स्थानीय सरकारका ८० सामुदायिक वनमा आगो लागेको थियो ।

आगलागीबाट २ हजार बढी हेक्टर क्षेत्रफल नष्ट भएको थियो । अघिल्लो वर्ष जिल्लामा ६१ वटा घर र ७९ वटा गोठ जलेर करोडौंको क्षति भएको थियो ।

गुल्मी जिल्लामा पछिल्लो २० वर्षको तथ्याङक हेर्दा ०७३ साल पछि आगलागीको ठूलो घटना अघिल्लो वर्ष भएको छ ।

०७३ सालमा मुसिकोट नगरपालिकाको वडानम्बर–४ दगाकोटमा स्थानीय सामुदायिक वनबाट बस्तीमा आगो पुग्दा ५८ वटा घर जलेका थिए । सयौं पशुचौपाय र सयौं गोठ जलेर नष्ट भएका थिए ।

आगोलागीबाट बर्सेनि जनधनको क्षति हुने गरेको छ । यसवर्ष पनि हिँउदमा पानी नपरेकाले आगलागीका घटनाहरु वृद्धि हुनसक्ने अनुमान सुरक्षा निकायको छ ।

यस्तो छ नियन्त्रणको तयारी

आगलागीबाट सम्भावित क्षति कम गर्न जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न रणनीतिहरु अपनाउने कार्ययोजना बनाउने तयारी गरेको छ ।

आगो नियन्त्रणसम्बन्धी कार्य योजना बनाएर अगाडि बढ्ने गरी विभिन्न खालका रणनीतिहरु तयार गरेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

सुरक्षाकर्मीलाई अग्नि नियन्त्रणका सामग्री तयारी अवस्थामा राख्ने काम र अपुग सामग्री मागका लागि विभिन्न कार्यालयसँग समन्वय पनि भइरहेको गौतमले बताए ।

आगलागीका लागि जोखिम नियन्त्र र आगलागी भइहालेको खण्डमा कसरी नियन्त्रण गर्न सकिन्छ भनेर त्यस बारेमा पनि योजनाहरु बनाइएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।

Leave A Reply

Your email address will not be published.