काठमाडौं :
चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’को गीत दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। पछिल्लो समय साना-छोटा कुरामा खोट लगाउने र गाली गर्ने प्रवृत्ति बढिरहेको बेला यो गीतले भने राम्रो प्रतिक्रिया बटुल्न सफल भएको छ।
‘म फूल हुँ कि काँडा’ बोलको गीतले सतप्रतिशत सकारात्मक प्रतिक्रिया पाएको छ। गीतको तारिफ जति भइरहेको छ, त्योभन्दा धेरै गीतको भिडियोमा नृत्य गर्ने अभिनेता नाजिर हुसेनको प्रशंसा भइरहेको छ।
उनको अभिनय कला र क्षमताको चौतर्फी प्रशंसा भइरहेको छ। युट्युबमा धेरै दर्शकले नाजिरको अभिनय देखेर उनलाई अझ गम्भीर भूमिकामा काम गर्ने मौका दिनुपर्ने प्रतिक्रिया दिएका छन्। केही दर्शकहरूले उनको प्रतिभा प्रस्ट देखिने गरी पूर्ण बहादुरको सारङ्गी जस्तै कुनै उत्कृष्ट चलचित्र आवश्यक भएको बताएका छन्।
“नाजिर, तिमी एक महान, बहुमुखी अभिनेता हौ,” विजय थापाले युट्युबमा भिडियो हेरेर लेखेका छन्, “उत्कृष्ट पात्रहरूमा अभिनय गरिरहनु। तिमी एक दिन महान अभिनेता बन्नेछौ। एउटा कुरा — विवादहरूबाट सचेत रहनु। मेरो शुभकामना।”
चलचित्रमा नाजिरले तेस्रोलिंगी महिलाको भूमिका निर्वाह गरेका छन्। उनले अभिनय गर्दा आफू नाजिर नै हो भन्ने महसुस नभएको बताएका छन्। गीतमा देखिएको उनको पहिरन हेरेर केहीले “के साँच्चै यो नाजिर नै हो?” भन्ने प्रश्न पनि गरेका छन्। “वाउ, ह्वाट अ पर्फर्मेन्स!” भन्ने प्रतिक्रिया उनले धेरैबाट पाएका छन्।
गीत र नाजिरको भिन्न पात्रमा अभिनय मन परेपछि दर्शकले चलचित्रलाई सफलताको शुभकामना दिइरहेका छन्। रिसभ आले लेख्छन्, “साँचिकै भन्नुपर्दा मैले पुरै भिडियो हेरेर पनि नाजिरलाई चिन्न सकिन। दोस्रो पटक हेरेपछि मात्र चिनेको थिएँ। तपाईंको अभिनयलाई सलाम!” लेखु सहयात्रीको शब्द रचना रहेको ‘म फूल हुँ कि काँडा’ गीतमा मनिषा पोखरेलको स्वर रहेको छ भने संगीत पनि लेखु सहयात्रीकै हो।
चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ भदौ १३ गते रिलिज हुँदैछ। समुन्द्र भट्ट निर्देशित यो चलचित्र लैंगिक अल्पसंख्यक तथा पारालैंगिक पात्रको कथामा आधारित छ। चलचित्रमा नाजिर हुसेनको मुख्य भूमिका रहेको छ। उनले पारालैंगिक महिला (ट्रान्सवुमन) को भूमिका निर्वाह गरेका छन्। साथै, सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
नेपालको पहिलो पूर्ण ट्रान्स स्टोरीमा आधारित यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले खरिद गरेको छ।
चलचित्रको सम्पूर्ण पोस्ट-प्रोडक्सनको काम विदेशमै गरिएको छ — एडिटिङ, कलर, मिक्सिङ, साउन्ड डिजाइन र ब्याकग्राउन्ड म्युजिकसमेत हलिउड शैलीमा गरिएको हो। चलचित्रमा हलिउड कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिक मार्सेलो दी फ्रान्सिसीले गरेका छन्। लिजा जेरार्डले हलिउड चलचित्र ‘ग्ल्याडिएटर–२’ मा समेत स्वर दिएकी थिइन्।
यो चलचित्र नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोडक्सन हाउसको संयुक्त सहकार्यमा बनेको हो। चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ। कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ सह–निर्माता हुन्।
आलोक शुक्लाले छायांकन गरेको चलचित्रमा लेखु सहयात्रीका गीतहरू समावेश छन्। यो चलचित्र अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केट मा पनि छनोटमा परेको थियो।
