सुचना, समाचार र मनोरन्जन
Pdms

‘पूजा, सर’ फ्रान्सका ६२ सिनेमा घरमा एकैपटक रिलिज, नेपाली फिल्मका लागि ऐतिहासिक उपलब्धि

काठमाडौं :

निर्देशक दीपक रौनियारको नेपाली फिल्म ‘पूजा, सर’ फ्रान्सका ६२ सिनेमा घरमा एकैपटक प्रदर्शनमा आएको छ। नेपाली फिल्मले यति ठूलो संख्यामा फ्रान्समा प्रदर्शन पाउनु पहिलोपटक हो, जसलाई अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक सफलता मानिएको छ।

फ्रान्सेली वितरण कम्पनी एआरपी सेलेक्सन मार्फत प्रदर्शन गरिएको फिल्मबारे कम्पनीकी प्रतिनिधि मिशेल हेल्बरस्टाड्टले भनिन्, ‘चलचित्र ‘पूजा, सर’ ले रहस्य, संस्कृति र भू(दृश्यमार्फत दर्शकलाई सिधै कथामा लैजान्छ। यो अप्रत्याशित र आकर्षक छ।’ फिल्मले एल म्यागजिन, ल पेरिसियाँ, मारी क्लेयर, ल प्वाँ लगायतका प्रमुख पत्रपत्रिकाबाट उत्कृष्ट समीक्षा पाएको छ। समीक्षकहरूले फिल्ममा देखाइएको समलैंगिक महिला प्रहरीको भूमिका, सामाजिक संघर्ष, र नेपालको स्थानीय कथालाई सशक्त रूपमा प्रस्तुत गरिएको बताएका छन्।

फिल्म स्विजरल्याण्डमा त्रिगोन फिल्म मार्फत तीन महिनादेखि निरन्तर प्रदर्शनमा रहेको छ। आर।टीएस, डाइ भोखेनसाइटुङ, र रेडियो फ्रायबुर्ग जस्ता संस्थाले फिल्मको विषयवस्तु र शैलीको प्रशंसा गरेका छन्। त्यस्तै, अष्ट्रेलिया र न्युजिल्याण्डमा वितरण अधिकार स्क्रिनक्सकोप नामक कम्पनीले खरिद गरेको छ, र चलचित्र सन् २०२५ मा ती देशहरूमा प्रदर्शन हुने भएको छ।

फिल्मको पृष्ठभूमि संगीत प्लाजा मेयर कम्पनीमार्फत २४३ देशमा एकसाथ सार्वजनिक गरिएको छ। यो संगीत स्पोटिफाई, अमेजन प्राइम, युट्युब लगायतका डिजिटल माध्यममा उपलब्ध छ। कलाकार, निर्माण र अन्तर्राष्ट्रिय मान्यता फिल्ममा आशा मगराती, निकिता चण्डक, दयाहाङ राई, बिजय बराल, रिचा शर्मा, घनश्याम मिश्र, गौमाया गुरूङलगायत कलाकारको अभिनय छ। निर्माणमा आदि फिल्म्स, बाँसुरी फिल्म्स र नर्वेको ट्यानहाउजर कम्पनीको सहकार्य रहेको छ।

‘पूजा, सर’ को प्रारम्भिक प्रदर्शन इटालीको भेनिस फिल्म महोत्सवमा भएको थियो। त्यसपछि फिल्म बुसान, सिड्नी, गोथेनबर्ग, टालिन लगायतका अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन भइसकेको छ। फिल्मले नेदरल्याण्डको “फ्री टु बी मी” पुरस्कार जितेको छ भने बेलायतको च्यानल ४ ले प्रसारण अधिकार खरिद गरिसकेको छ। साथै, फिल्म नोभेम्बर २०२५ देखि अन्तर्राष्ट्रिय विमान सेवाहरूमा पनि प्रदर्शन हुने भएको छ, जसको वितरण अमेरिकी संस्था पेनी ब्ल्याक मिडियाले गर्नेछ।

Leave A Reply

Your email address will not be published.