सुचना, समाचार र मनोरन्जन
Pdms

नाजिरको डेरिङ अवतार: ‘गुन्यु चोलो’मा ट्रान्सवुमनको भूमिकामा

काठमाडौं :

नेपाली समाज अन्तरमुखी स्वभावको छ। मनमा लागेको कुरा भित्रभित्रै गुम्स्याएर राख्छ तर खुलस्थ पार्दैन। पितृसत्तामक सोच भएको समाजमा महिला दबिएर र पिल्सिएर बस्नुपर्ने अवस्था छ। महिला त आफ्नो पीडा हम्मेसी राख्न नसक्ने समाजमा तेस्रोलिंगीको अवस्था कस्तो होला। तेस्रोलिंगीले आफ्नो पहिचान दबाएर बस्नु पर्ने अवस्था छ। त्यसैले अधिकांश तेस्रोलिंगी आफ्नो पहिचानलाई भित्रै दबाएर नारकीय जीवन जिइरहेका छन्।

घर, परिवार र समाजको डरले र आफैँ बहिस्कृत हुने त्रासले तेस्रोलिंगीहरू आफ्नो असली लिंगीय पहिचान दबाएर बसिरहेका छन्। कसरी बसिरहेका छन् त्यसको केही झलक चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलरमा देखिन्छ। जहाँ छोरो महिलाको नेचरको छ। तर, बाउआमा, साथी, आफन्त, छिमेकी साराले उसलाई हेय भावले हेरिरहेका छन्। छोरोको चाहाना हातभरी छन्छन् चुरा, आँखामा गाजल र सारीचोलो लगाएर बाँच्नेछ। तर, बाउ छोरोलाई लाउरे बनाउने हरदिन टर्चर दिन्छन्।

यो कथा देखाएको चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलरले यतिबेला सकारात्मक प्रतिक्रिया पाइरहेको छ। प्राप्त प्रतिक्रियाले निर्माणपक्ष अहिले दङ्ग छ। “हामीले जस्तो अपेक्षासहित सिनेमा बनाएको थियौँ । त्यसको नजिक पुगेको ट्रेलरको प्रतिक्रियाले छनक दिइरहेको छ,” निर्देशक समुद्र भट्टले भनिन्, “ट्रेलरजस्तै प्रतिक्रिया र माया चलचित्रबाट पायौँ भने हामी सफल हुनेछौँ । र, हामी सफलताको नजिक रहेको ट्रेलरले देखाएको छ ।”

नेपालमा दबिएर बसेको र आफ्नो आवाज बाहिर ल्याउन नसकेको समुदायको बोली आफ्नो टिमले चलचित्र ‘गुन्यु चोलो ः द ड्रेस’मार्फत् बोलेको उनले बताइन् । चलचित्रका मुख्य अभिनेता नाजिर हुसेन पनि सिनेमालाई लिएर ठूलो अपेक्षामा छन् । जुन गीत र ट्रेलरले अपेक्षा पूरा हुँदै गएको उनको भनाइ छ । दशक अगाडि ‘होस्टेल’ले रामेश्वर यादवको पहिचान दिएको भन्दै अब चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलरले आफूलाई नयाँ चरित्रमार्फत दर्शक माझ चिनाउने नाजिर बताउँछन् ।

‘गुन्यु चोलो : द ड्रेस’ भदौ १३ गते रिलिज हुँदैछ । समुन्द्र भट्टको निर्देशन रहेको चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ ।  ‘गुन्यु चोलो : द ड्रेस’मा नाजिरले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन्। नाजिरसँगै चलचित्रमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्ले किनेको छ। चलचित्रको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको छ। चलचित्रको एडिट,कलर, मिक्सिङ,साउन्ड डिजाइनदेखि ब्याकग्राउन्ड म्युजिकसम्मको काम हलिउड शैलीमा बाहिरै गरिएको छ।

चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन्। हलिउड चलचित्र ‘ग्ल्याडिएटर– २’ मा लिजाले स्वर दिएकी थिइन्।

यो चलचित्र नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको हो। चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ। चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन्। आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत रचना रहेको छ। यो चलचित्र अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको थियो।

Leave A Reply

Your email address will not be published.