सुचना, समाचार र मनोरन्जन

भारतीय प्रधानमन्त्रीले नेपालका धार्मिक स्थलको प्रचार गर्छन्, हाम्रा प्रधानमन्त्रीहरूलाई मतलव छैनः उपसभापति गुरुङ

 

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाल हिन्दु धर्मावलम्वीहरूको तपोभूमि भए पनि सरकारले प्रचार गर्न नसकेको बताएका छन्।

मंगलवार जनकपुरमा आयोजित नेपालको समृद्धिमा भारतको भुमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

 

नेपालको परिचय दिलाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति, लुम्बिनी, मुक्तिनाथ, जनकपुरधाममा गएर ध्यान गर्ने र प्रचार प्रसार गरिदिएको तर नेपालकै प्रधानमन्त्रीहरूले चासो नदिने गरेको उल्लेख गरे।

 

उनले नेपालका धामहरूको प्रचार प्रसार गर्ने हो भने भारतबाट वर्षेनी ठूलो संख्यामा धार्मिक पर्यटकहरू भित्र्याउन सकिने बताए। पशुपतिनाथमा चढाएको जलहरिको विषयमा नेपालीहरू आलोचना गरेर बस्ने गरेको र त्यसले अनास्था फैलिएको उनको भनाइ छ।

 

नेपालको धार्मिक स्थलहरूको प्रचार गर्नका लागि पहिला ताप्के (नेपाल) तात्नुपर्ने र बिँड (भारत) तातेर अर्थ नरहने बताए।  उनले सरकारले भारतीय सेनामा नेपालीहरूलाई भर्ती हुनबाट रोक्दा रुस–युक्रेन लगायतका देशहरूमा नेपालीहरू सेनामा भर्ती भएर जीवन कटाउन बाध्य हुनुपरेको जिकिर गरे।

 

उपसभापति गुरुङले छिमेकीसँग प्रगाढ सम्बन्ध राखेर अघि बढ्न जरुरी रहेको बताए। उनले आफूले केही नगर्ने र अरुले सबै गरिदिनुपर्ने सोच राखेर हिँड्न नहुने बताए। उनले नेतृत्वमा बसेकाहरूले आफ्नो भुमिका सोच्नुपर्ने र मात्रै नेपालको समृद्धिमा भारतको भुमिकाका बारेमा छलफल गर्न उचित हुने उल्लेख गरे।

 

Leave A Reply

Your email address will not be published.