काठमाडौं :
फागु पूर्णिमाको अवसर पारेर फिल्म ‘हामी तीन भाइ’को टिजर सार्वजनिक गरिएको छ। निर्माण टिमले ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरेको हो।
सार्वजनिक टिजरमा एक गाउँका तीन दाजुभाइको कथा प्रस्तुत गरिएको छ। विनोद न्यौपाने, कुशल बिष्ट र फलित राई अत्यन्त मिल्ने दाजुभाइका रूपमा देखिएका छन्। उनीहरू खेतबारी आफैं जोतिरहेको दृश्यले आपसी एकता र संघर्ष झल्काउँछ। सानै उमेरमा आमा–बुबा गुमाए पनि उनीहरूका लागि दाजु नै अभिभावक बनेको देखाइएको छ।
तर, विवाहपछि सम्बन्धमा दरार आउँदा कथा मोडिन्छ। टिजरले मिलेर बसेका दाजुभाइबीच वैवाहिक जीवनपछि उत्पन्न खटपट र संघर्षलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। नेपाली समाजको यथार्थपरक कथा निर्देशक मधुसूदन भट्टराईले जीवन्त रूपमा पर्दामा उतारेका छन्। टिजरले दर्शकमाझ उत्सुकता जगाउने संकेत दिएको छ। टिजरमा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, फलित राई, राजाराम पौडेल, रविन्द्र झा लगायत कलाकारको अभिनय देख्न सकिन्छ। फिल्म कमेडी र मार्मिक कथावस्तुको संयोजनमा बनेको अनुमान गर्न सकिन्छ।
मधुसूदन भट्टराई निर्देशित यस फिल्ममा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाईं, शुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्नबहादुर भण्डारी (भोले), गोविन्दप्रसाद पौडेल, भूमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जन लगायतको अभिनय रहेको छ।
फिल्म प्रसिद्धि सिने आर्ट्स प्रा.लि.को ब्यानरमा निर्माण भएको हो। निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुन् भने कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन्। सह–निर्मातामा भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डे रहेका छन्। विशेष सहयोगी शम्भु कुमार केसी हुन्। प्रस्तुतकर्ता साजित महत रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्।
छायांकन शिव ढकालले गरेका छन् भने सम्पादन बनिश शाहको रहेको छ। संगीत साप शक्ति र बाबुल गिरीले दिएका छन्। नृत्य निर्देशन कमल राई र इन्द्रदेव महर्जनले गरेका छन्। पाश्र्वसंगीत सम्राट थापा, ध्वनि मिश्रण मुकेश शाह र रंग संयोजन रेनिश फागोको रहेको छ।
मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेल रहेका छन्। प्रचार सामग्री आइडियल डिजाइनर्सले तयार पारेको हो। सहायक सम्पादन क्यामोदिन मिया, श्रृंगार अशोक रोक्काले गरेका छन् भने द्वन्द्व निर्देशन देव महर्जनको रहेको छ।
ग्राफिक्स एक्स समिर मिया, कला निर्देशन दिनेश लामा ‘गैंडा’, निर्माण नियन्त्रण सन्देश राई (भान्जा)ले सम्हालेका छन्। पोस्ट–प्रोडक्सनको काम मोशन स्टूडियोले गरेको हो। वितरण नेशनल सिने ग्रुप प्रा.लि.ले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।
यसअघि फिल्मको प्रचारस्वरूप सार्वजनिक गरिएको लिरिकल गीत ‘मैले जति दुःख, पीडा, कष्ट पाएको भए’ले दर्शकमाझ राम्रो चर्चा पाएको थियो। फिल्म आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।