काठमाडौं :
वरिष्ठ कलाकार हरिवंश आचार्यको मुख्य भूमिकामा रहेको नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’ को टिजर सार्वजनिक गरिएको छ। दशैंको फूलपाती (असोज १३) का दिनबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मले सामाजिक सन्देशसहित मनोरञ्जन दिन लक्ष्य लिएको छ।
टिजरमा हरिवंश आचार्यलाई भावुक र जीवन्त पात्रको रूपमा प्रस्तुत गरिएको छ। यसपटक उनलाई पारम्परिक हास्य भूमिकाभन्दा फरक ढंगमा देख्न पाइनेछ, जसले फिल्मप्रति दर्शकको उत्सुकता बढाएको छ। दीपेन्द्र के. खनालको निर्देशनमा बनेको फिल्ममा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, हरिहर शर्मा, किरण केसी, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ।
फिल्म एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको हो, जसका निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन्। छायांकन कृष्णबहादुर थापाले गरेका छन् भने सम्पादन नहकुल खड्काले गरेका हुन्।
संगीतमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुत छन्। स्वरमा आशिष अविरल, समीक्षा अधिकारी, समिर खरेल, मोहितवंश आचार्य र सज्जा चौलागाईं रहेका छन्। ‘हरिबहादुरको जुत्ता’ले हरिवंश आचार्यलाई एक फरक धारको चरित्रमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ, जुनले नेपाली फिल्म उद्योगमा विविधता ल्याउने विश्वास गरिएको छ।