काठमाडौं :
नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई (INI) ले आफ्ना हलहरूमा सञ्चालन हुने कमर्सियल शो (सामान्य दर्शकका लागि सञ्चालन हुने प्रदर्शनहरू) का क्रममा क्यामेरा र बुम प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै,आईएनआईले दर्शकको गोपनियता संरक्षण गर्न यस्तो निर्णय लिनुपरेको स्पष्ट पारेको छ। पछिल्लो समय पत्रपत्रिका, युट्युब च्यानल वा टेलिभिजन कार्यक्रमहरूका प्रतिनिधिहरूले हलमा फिल्म हेर्दै गरेका दर्शकहरूमाथि अकस्मात प्रश्न सोध्ने, क्यामेरा तेर्साउने जस्ता गतिविधिहरू गर्न थालेपछि दर्शकहरूबाट गोपनीयता भंग भएको गुनासो बढेको थियो।
आईएनआईको विज्ञप्तिमा भनिएको छ: “विगत केही समयदेखि प्रदर्शन भएका फिल्मसँग सम्बन्धित विभिन्न प्रश्न सोध्ने क्रममा फिल्म हेर्न बाधा पुग्ने तथा गोप्यता भंग हुने गुनासा आइरहेकाले अबदेखि प्रिमियर, गीत रिलिज वा ट्रेलर रिलिजजस्ता विशेष आमन्त्रण कार्यक्रममा मात्र यस्ता उपकरण प्रयोग गर्न पाइनेछ। कमर्सियल शोमा भने पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ।”
आईएनआईले यो निर्णय गोंगबुस्थित ल्होत्से मल, नयाँ बानेश्वरको एनबी सेन्टर, जमलस्थित विश्वज्योति मल, बुटवल सिटी सेन्टर र सिमराको केएसआर हल लगायत आफ्ना सबै शाखामा लागू गर्ने जनाएको छ। यो निर्णयसँगै, कुनै पनि नेपाली मल्टिप्लेक्स चेनले गोपनियता संरक्षणका लागि क्यामेरा र बुम प्रयोगमाथि यस्तो संस्थागत रोक लगाएको यो पहिलोपटक हो।