सुचना, समाचार र मनोरन्जन

अभिनेता धीरज मगर र ‘ऐरी’ फिल्मका निर्माता बीचको विवाद सहमतिमा टुंगियो

काठमाडौं :

 अभिनेता धीरज मगर र फिल्म ‘ऐरी’का निर्माता बीचको विवाद चलचित्र निर्माता संघको मध्यस्थतामा सहमति हुँदै टुंगिएको छ। ‘ऐरी’का निर्माता कम्पनी मल्टिमेट प्रा.लि. का तर्फबाट कमलबहादुर आलेले धीरज मगरविरुद्ध चलचित्र निर्माता संघमा २ भदौमा उजुरी दर्ता गराएका थिए। उजुरीमा धीरजले सहमति अनुसार छायांकनमा सहभागी नभएको भन्दै १४ करोड रुपैयाँ क्षतिपूर्तिको माग गरिएको थियो।

उक्त उजुरीपछि चलचित्र निर्माता संघले बुधबार दुबै पक्षलाई छलफलका लागि बोलाएको थियो। संघको रोहबरमा भएको छलफलपछि दुबैले सहमति जनाएका छन्। निर्माता संघका अध्यक्ष नवल खड्काका अनुसार धीरजले आगामी अक्टोबर ५ देखि नोभेम्बर १५ सम्मको समयमा फिल्मको छायांकनमा सहभागी हुने सहमति भएको हो।

छायांकनको मिति हेरफेर भएमा दुबै पक्षले आपसी छलफलमार्फत समाधान गर्ने सहमति पनि भएको छ। निर्माताका अनुसार, धीरजले ‘ऐरी’को केवल १६ दिनमात्र छायांकन गरेका थिए भने बाँकी २८ दिन अनुपस्थित भएका थिए। १० लाख रुपैयाँ पारिश्रमिकमध्ये ४ लाख अग्रिम दिइसकिएको अवस्थामा पनि उनले काम नगरेको आरोप उजुरीमा उल्लेख गरिएको थियो।

हालै झण्डै एक महिना ढोरपाटन क्षेत्रमा फिल्मको छायांकन भए पनि एक वर्षको अवधिमा सकिने भनिएको फिल्मको काम बीचमै रोकिएको थियो।

Leave A Reply

Your email address will not be published.