सुचना, समाचार र मनोरन्जन

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ,

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएका हुन् ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार प्रतिकूल मौसमका कारण आज आन्तरिकतर्फ केही उडान ‘डाइभर्ट’ हुनका साथै भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको छ । पोखरा विमानस्थल आगमन बन्द छ भने ‘डिपार्चर’ मात्रै खुलेको छ । काठमाडौँका लागि विराटनगरबाट उडेको श्री एयरलाइन्सको विमान उतै डाइभर्ट भएको जनाउँदै उनले भैरहवाबाट काठमाडौँ उडेको सोही एयरलाइन्सको विमान भैरहवा डाइभर्ट भएको बताए ।

प्रवक्ता शेर्पाका अनुसार अन्तरराष्ट्रियतर्फ नेपाल एयरलाइन्सको विमान भारतको नयाँदिल्ली डाइभर्ट भएको छ । इण्डिगो एयरको विमान पनि नयाँदिल्ली डाइभर्ट गरिएको जनाउँदै उनले एयर इण्डियाको विमान लखनऊ डाइभर्ट भएको उल्लेख गरे । अहिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भिजिबिलिटी दुई हजार ५०० मिटर रहेको प्रवक्ता शेर्पाले बताए । इनरुट वेदर खराबीले आन्तरिक उडानमा समस्या भएको विमानस्थल कार्यालयले जनाएको छ ।

यसैबीच जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ कात्तिक ११ गते राति भारतको आन्द्र प्रदेशमा प्रवेश गरेको छ । त्यसपछि उक्त प्रणाली विस्तारै कमजोर हुँदै उत्तर, उत्तर–पश्चिम दिशातर्फ सर्दै न्यून चापीय क्षेत्रका रूपमा नेपालको मध्यभू–भाग नजिक आएर पूर्वतर्फ सर्दै गरेको छ ।

आजदेखि यही कात्तिक १५ गतेसम्म नेपालको बाग्मती, मधेस र कोशी प्रदेशको मौसम प्रभावित हुने महाशाखाले जनाएको छ । उक्त प्रणालीको प्रभावले मधेस र कोशी प्रदेशका अधिकांश स्थानमा तथा बाग्मती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । ती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले आवश्यक सर्तकता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.