काठमाडौँ,
पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमालमा जारी खोज तथा उद्धार अभियानअन्तर्गत चार पर्वतारोहीको शव उठाइएको छ।
अल्पाइन क्लब अफ पाकिस्तानले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार घटनास्थलबाट शव उठाइएका पर्वतारोहीहरूमा निर्मल पुर्जा ९निम्स दाइ०, वाङ झोङ, निमा शेर्पा र किली पेम्बा शेर्पा ‘किलु’ रहेका छन्।
क्लबका अनुसार यसअघि तीन शव उद्धार भइसकेका छन् भने पहिचान भएका थप चार पर्वतारोहीलाई उद्धार टोलीले क्याम्प–१ (सी–१) तर्फ झार्ने काम गरिरहेको छ।
उद्धारकर्ताहरूले उच्च उचाइमा थप एक शव रहेको पुष्टि गरेका छन्। तर, अत्यन्त जोखिमपूर्ण भू–भाग र प्रतिकूल मौसमका कारण हाल उक्त शव उठाउने सम्भावना न्यून रहेको जनाइएको छ।
अल्पाइन क्लब अफ पाकिस्तानले कठिन परिस्थितिमा उद्धार अभियानमा खटिएका पाकिस्तानी र नेपाली उद्धार टोलीको साहस, व्यावसायिकता र समर्पणको प्रशंसा गरेको छ।
क्लबले यस दुःखद घडीमा मृतकका परिवार, आफन्त तथा विश्व पर्वतारोहण समुदायप्रति समवेदना व्यक्त गर्दै आधिकारिक र प्रमाणित सूचनामात्र विश्वास गर्न आग्रह गरेको छ। साथै, अपुष्ट र अनौपचारिक विवरणहरू सार्वजनिक नगर्न सञ्चारमाध्यम तथा सर्वसाधारणलाई अनुरोध गरेको छ।
ब्रोड पिक काराकोरम हिमशृंखलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल हो।