काठमाडौं :
छैटौं संस्करणको हिमालयन इन्टरनेशनल अवार्डका लागि आवेदन आह्वान गरिएको छ। ‘भाषा, साहित्य, कला र संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ अवार्डको छैटौं संस्करण आयोजना हुने भएको हो। आयोजक संस्थाले विज्ञप्ति जारी गर्दै आवेदन खुला गरिएको जानकारी दिएको छ।
राष्ट्रिय भावका गीतसँगै पप, लोकदोहोरी, आधुनिक, बालगीत, डायस्पोरा र रिमिक्स विधालाई समेटिएको अवार्डका लागि वैशाख २१ गते सोमबारदेखि आवेदन फारम खुला गरिएको अवार्ड संयोजक गीता अधिकारीले जानकारी दिएकी छन्।
अवार्डका अध्यक्ष गणेश सुवेदीका अनुसार २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म ९एक वर्षभित्र० सार्वजनिक भएका गीत, संगीतका स्रष्टा तथा प्राविधिकलाई अवार्ड प्रदान गरिनेछ।
गीत तथा सिर्जनाहरू दर्ता गर्न आवेदनको अन्तिम म्याद जेठ १५ गतेसम्म तोकिएको छ। अवार्ड समारोहमा नेपाली गीतसंगीत क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गरिनेछ। साथै, देश तथा विदेशमा रहेका नेपाली संगीतकर्मी र सञ्चारकर्मी पत्रकारलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ।
यसअघि अवार्डका संस्करणहरू काठमाडौंसहित थाइल्याण्ड, सिंगापुर र मलेसियामा सम्पन्न भइसकेका छन्। छैटौं संस्करणलाई अझ विशेष र भव्य बनाउने तयारी भइरहेको संयोजक अधिकारीले जानकारी दिएकी छन्।