सुचना, समाचार र मनोरन्जन

पारिश्रमिक विवाद चर्किँदा तमिल फिल्म उद्योग ठप्प

मुम्बई :

पारिश्रमिकसम्बन्धी विवाद चर्किँदा तमिलनाडुमा फिल्मको छायांकन ठप्प भएको छ। तमिल चलचित्र निर्माता परिषद्ले शनिबार सांकेतिक हड्ताल घोषणा गरेपछि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म हुने सम्पूर्ण छायांकन रोकिएको हो।

हड्तालका कारण धनुष अभिनीत ‘डी फिफ्टी फाइभ’ र सिलम्बरासन टीआर अभिनीत ‘अरासन’ लगायत दर्जनौँ फिल्मको काम प्रभावित भएको छ। छायांकनसँगै पोस्ट–प्रोडक्सनका कामसमेत ठप्प बनेका छन् भने विभिन्न श्रमिक तथा प्राविधिक संघले आन्दोलनलाई समर्थन जनाएका छन्।

निर्माता पक्षले निश्चित पारिश्रमिकको सट्टा आम्दानीमा आधारित भुक्तानी प्रणाली लागू गर्न माग गर्दै आएको छ। बढ्दो निर्माण लागत र लगातारको घाटाका कारण आफूहरू गम्भीर आर्थिक दबाबमा परेको उनीहरूको भनाइ छ। परिषद्का अनुसार पछिल्ला तीन वर्षमा प्रमुख कलाकार र प्राविधिकको पारिश्रमिक अत्यधिक बढेकाले धेरै निर्माता घाटामा गएका छन् र नयाँ चलचित्र सुरु गर्न कठिन भएको छ।

प्रस्तावित नयाँ प्रणालीअनुसार कलाकार तथा प्राविधिकको पारिश्रमिक फिल्म रिलिजपछि हुने आम्दानीसँग जोडिनेछ। निर्माताहरूले यसले जोखिम घटाउने र फिल्म निर्माणलाई दीर्घकालीन रूपमा टिकाउ बनाउने दाबी गरेका छन्।

परिषद्ले आमिर खान, सलमान खान, शाहरुख खान, अक्षय कुमार र अजय देवगन जस्ता हिन्दी फिल्मका कलाकारले आम्दानी साझेदारीको अभ्यास गरिरहेको उदाहरण दिएका छन्। तेलुगु फिल्म उद्योगमा पनि यस्तो अभ्यास बढ्दो रहेको जनाइएको छ।

यद्यपि, कलाकारहरूको संस्था नडिगर संगम ले भने हड्तालमा समर्थन जनाएको छैन। संस्थाले यस्तो आन्दोलनले कलाकार तथा श्रमिकको रोजगारीमा असर पार्ने भन्दै समर्थन नगर्ने स्पष्ट पारेको छ।

परिषद् र नडिगर संगमबीच पटक–पटक छलफल भए पनि सहमति जुट्न सकेको छैन। त्यसैले निर्माता पक्षले आर्थिक दबाब देखाउन सांकेतिक हड्ताल रोजेको जनाएको छ। अब वार्ताबाट समाधान निस्किने कि विवाद थप चर्किने भन्नेमा तमिल चलचित्र उद्योगको आगामी दिशा निर्भर रहने देखिएको छ।

Leave A Reply

Your email address will not be published.