सुचना, समाचार र मनोरन्जन

फोहोर प्लास्टिक बोत्तललाई मोहोरमा परिणत गर्दै हिमालयन लाइफ प्लास्टिक

सन्तोष बस्याल
पोखरा ।

फोहोर व्यवस्थापन पोखराका लागि ठूलो समस्या हो । अल्पकालिन समयका लागि यसको निदान भएता पनि दिगो रुपमा भने हुन सकिरहेको छैन । दिनप्रतिदिन पोखराबाट निस्कने फोहोरमा नकुहिने प्लास्टिक जन्य वस्तुहरु बढी मात्रामा पाइन्छ । जसलाई व्यवस्थापन गर्न पोखरा महानगरपालिका लागिरहेको छ । तर पनि अत्याधिक प्लास्टिकका बोत्तल प्रयोग हुन थालेपछि व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको छ ।

यस्तैमा, गत बुधबार कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र युएनडीपीसँग मिलेर इनोफेस्ट कार्यक्रमको आयोजना महानगरले गर्यो । जहाँ प्लास्टिक जन्य फोहोरलाई कसरी प्रशोधन गर्न सकिन्छ ? भन्ने विषयका बारेमा जानकारी गराइएको थियो । प्लास्टिकको प्रयोगको विकल्पका बारेमा समेत जानकारी दिन स्टल राखिएको थियो ।

बोत्तललाई बोत्तल नै बनाएर बिक्रीवितरण गर्ने माध्यमको समेत विकास भएको हिमालयन लाइफ प्लास्टिकका जनरल म्यानेजर प्रकाश भारतीले जानकारी गराए । महानगरले आयोजना गरेको उक्त कार्यक्रममा अवलोकन गर्ने अक्सर विद्यार्थी देखिन्थे । थुप्रिएको प्लास्टिकको बोत्तल देखेर विद्यार्थीको चाँसो भारती तर्फ मोडिएको पाइयो । भारतीले विद्यार्थीलाई प्लास्टिक प्रशोधन गरी फोहोर व्यवस्थापनमा कसरी सहयोग पुर्याउन सकिन्छ ? भन्ने विषयमा जानकारी गराए ।

प्लास्टिक प्रशोधनका विषयमा बुझ्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य

सन् २०१२ देखि नै हिमालय लाइफ प्लास्टिकले पेट बोत्तल संकलन गर्दै आएको छ । संकलन मात्र नभई त्यसको प्रशोधन गरी पुनः प्रयोगमा समेत ल्याइएको अवस्था छ । नेपालमा नै पहिलो पटक उक्त कम्पनीले पेट बोत्तलको प्रशोधन सुरुवात गरेको दाबी भारतीको छ । वार्षिक १२ सय मेट्रिक टन बोत्तल रिसाइकल गर्दै आइरहेको हिमालयन लाइफ प्लास्टिकले देशको अर्थतन्त्र र वातावरणमा सकरात्मक प्रभाव पारेको उनले बताए । बेलाबेलामा पोखराको फोहोर व्यवस्थापनमा देखिने समस्या समाधानका लागि उक्त कम्पनी उदाहरणीय साबित हुन सक्ने विश्वास गरिन्छ ।

पोखराबाट मात्रै मासिक ४० टन बोत्तल संकलन गरी त्यसको प्रशोधन समेत गरिएको भारती बताउँछन् । उनका अनुसार ४ हजार टन कार्बन उत्सर्जन रोक्नमा समेत हिमालयन लाइफ प्लास्टिकले सहयोग पुर्याएको छ ।

यसरी संकलन गरिन्छ फोहोर प्लास्टिकका बोत्तल

प्लास्टिकको बोत्तल संकलन गरी पहिला त्यसको विभाजन गर्ने र त्यसपछि मात्र प्रशोधन गरिने उनले उल्लेख गरे । फालिएको प्लास्टिकको बोत्तलबाट पनि आम्दानी गर्न सकिने उनले बताए । हिमालयन लाइफ प्लास्टिकले नेपालको विभिन्न भुभागबाट मासिक ७० टन बोत्तल संकलन गर्दै आइरहेको छ । पोखरा—१० औद्योगिक क्षेत्रमा रहेको कम्पनीले पोखरालाई सुन्दर बनाउन सहयोग गर्न सक्छ । फोहोर व्यवस्थापन दिगो स्वरुप नै प्रशोधन भएकाले फोहोरबाट मोहोर कमाउने वातावरण मिले सयौंले रोजगारी समेत पाउने भारती बताउँछन् । हिमालयन लाइफ प्लास्टिकमा ६० जना कर्मचारी छन् । ३ सय भन्दा बढी संकलक र आपूर्तिकर्तालाई रोजगार उपलब्ध गराएको छ । कम्पनीको उद्देश्य भनेकै आगामी पुस्ताका लागि स्वच्छ र सफा वातावरण उपलब्ध गराउने हो । प्लास्टिक रिसाइकल सँगै यसका उपभोक्ताहरु र सम्बन्धित सरकार सहित सार्वजनिक निकायहरुमा फाइदाहरु बारे सचेतना जगाउने हो ।

 

Leave A Reply

Your email address will not be published.