सुचना, समाचार र मनोरन्जन

इमानको खडेरी, लोकतन्त्रको विष

 आलेख …

हिराबहादुर कार्की /

प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्रको इभोलुसनमा तीतो यथार्थ जस्ताको तस्तै छ: इमानको खडेरी । इमानको खडेरीमा लोकतन्त्र फस्टाउन असम्भव छ । अपवाद एक ठाउँमा छ, लगभग सबै राजनीतिक दलले नागरिकलाई रटाउँदै आएको लोकतन्त्रको क्रमिक सुधारमाथि नागरिकले अझै आशा राखिरहनु आत्मघात हो ।

राजनीति भन्नु कि मोलतोल भन्नु बडो दुविधा हुन्छ । तीन ठूला पार्टी छन् । पार्टी केही होइन । पार्टीका मालिकहरू नै सर्वेसर्वा हुन् । पार्टीका मालिकहरू एकअर्काको मोलमोलाई गरिरहन्छन् । प्रचण्ड, देउवा, ओलीबिच भैरहेका बार्गेनिङ्गकै सिलसिला हेरौं । स–साना पार्टीका मालिकहरू पनि कत्ति कम छैनन् । उनीहरूको मोलतोलमा राष्ट्र र नागरिकको सवालले ठाउँ पाउँदैन । जे पाउँछन् उनीहरूले पाउँछन् । लोकले त हरेकपटक गुमाउने मात्रै हो ।

नेपालको कुरा छोडौं, विश्वकै राजनीतिमा अनपेक्षित र अप्रत्याशित केही हुँदैन । माननीय गगन थापाको एमाले–कांग्रेस मिल्नुअगाडिको भर्सनलाई ब्लाइन्ड आँखाले हेर्ने हो भने यसपालीको एमाले–कांग्रेस एकता अनपेक्षित र अप्रत्याशित घटना हो । तर यथार्थमा यो घटना पूर्णतया नियोजित घटना हो र यो एकता एमाले–कांग्रेस पार्टीको भन्दा बढी देउवा–ओली एकता हो । यो केमेस्ट्रीमा राजनीतिक, व्यक्तिगत तथा सामूहिक दाउपेचका विविध रसायन मिसिएका छन् । एमाले–कांग्रेस एकताको औचित्य र गन्तव्यको पाठ जो पढाउन थालिएको छ, पढाउन खोज्ने माननीय मास्टरसाहेबहरू स्वयम् लाजले भुतुक्कै परेका छन् ।

देउवा–ओली सन्धिका कारण प्रचण्डले सत्तासीन भैरहने मौका गुमाउँछन् । यस्तो सन्धि नहोस् भन्ने कामना गर्नु फरक कुरा हो तर प्रचण्डकै लागि पनि यो अनपेक्षित थिएन अर्थात् यस सम्भावनासँग उनी अनविज्ञ थिएनन् । देउवा–ओलीले त सत्ता सेयर गर्नेछन् । लोकले के पाउने छ ? केही छैन, लोकले फेरि गुमाउने छ । प्रचण्डले विश्वासको मत माग्ने निर्णय गरेर सायद ठिकै गरे । हरेक युद्ध अन्तिम साससम्म लड्नै पर्छ । दुर्भाग्य, यो युद्धमा सबैभन्दा पहिले सहिद हुने नागरिक नै हो ।

लोकले के गुमायो वा गुमाउनेछ ? लोकले के पायो वा पाउनेछ ? प्रधान प्रश्न यो हो तर बजारमा चर्चा परिचर्चा अरू नै विषयहरूको छ । त्यसमध्ये चर्चाको चुलीमा छः एमाले–कांग्रेस एकताले प्रचण्डको पलिटिकल करिअरमा पूर्णविराम लगाउन सक्छ कि सक्दैन ?

देउवा–ओलीको सन्धिमा नेपाली राजनीतिबाट प्रचण्ड र माओवादलाई पाखा लगाउन सक्ने सम्भावना बलियो छ । तर प्रश्न त नेपाल र नेपालीका लागि नेपाली राजनीतिबाट प्रचण्ड र माओवादलाई पाखा लगाउन हुन्छ कि हुँदैन भन्ने हो । कांग्रेस भनेको देउवा, एमाले भनेको ओली र माओवादी भनेको प्रचन्ड भन्ने कुरामा कुनै दुविधा छैन । उनीहरूको अभ्यासको फेहरिस्तले प्रस्ट बुझाएकै छ । यो अवस्थामा जसले जसलाई पाखा लगाएपनि, काखमा राखेपनि यसको परिणाम वा दुष्परिणामले लोकको जीवन बिगार्छ मात्रै, केही सपार्दैन ।
राजनीतिक पण्डितहरूका फरक–फरक मान्यताहरु छन्:

.कमरेड प्रचण्ड एन्ड टिमसँग पनि देउवा–ओलीलाई ठेगान लगाउने अनेकौं तुरूप छन् र ती तुरूपहरूको समयानुकुल प्रयोग हुनेछ÷हुँदैछ ।
.ओली र देउवाको संयुक्त पावरहाउसमाथि प्रचण्ड एन्ड टिमको जुनसुकै तुरूप पनि अर्थहीन छ ।
.प्रचण्डको पलिटिकल करिअरमा एमाले–कांग्रेसको यो आकस्मिक एकता पनि बार्गेनिङ्ग मात्रै हो, मिल्दै गर्छ ।
.यो सन्धिको जग नै कमजोर छ, यसले प्रचण्डसँग सत्ता खोसेपनि प्रचण्डको राजनीतिक भविष्यमा सम्भावना थप्छ, अन्त्य गर्दैन ।
.यस एकताले निम्त्याइसकेको अर्को सङ्कट प्रचण्डका लागि सुध्रिने, सच्चिने मौका हो ।

नेपाली राजनीतिमा सत्ता मात्रै सत्य हो । सिद्धान्त, नैतिकता, इमान्दारी, विधिका कुरा बकवास हुन् । नेपाली लोकतन्त्रका चुनौती अनेक छन् तर चुनौतीको बिउ एउटै छ । अनेक चुनौतीहरूलाई एउटै भाँडोमा उमालेर निखार्ने हो भने छर्लङ्गै देखिन्छः सत्तालिप्सा र इमानको खडेरी ।

प्रचण्डको स्वभाव र इमानमाथि उठिरहने प्रश्न भने कम्तिमा प्रचण्डकै लागि अत्यन्तै गम्भिर प्रश्न हो । हिजो सँगै आन्दोलनमा होमिएका सहकर्कीले ठगको आरोप, चुनावी साझेदार, सत्ता साझेदार, बा¥हबुँदे सम्झौता साझेदारहरूले धोखेवाजको आरोप लगाइरहँदा उनलाई कस्तो महसुस हुन्छ, उनै जानुन् । पार्टी बदलु, वैचारिक विलयको नमुना, माओवादको बलात्कार जस्ता अनेक आरोप पनि उनीमाथि लगाइन्छ । उनको स्वभाव र इमानमाथि श्रृंखलावद्ध प्रश्न उठिरहँदा उनले आत्मसमीक्षा गर्ने कि प्रत्यारोपमा समय नष्ट गर्ने उनको कुरा हो । बदलामा दिमाग खियाउने वा बदलिनुमा मेहनत गर्ने उनको कुरा । केही दिन पुष्पकमल दाहालसँग अन्तरङ्ग संवादका लागि ध्यानयात्रामा लाग्नु प्रचण्डका लागि अत्यन्तै हितकर होला ।

नेपाली राजनीतिमा सत्ता मात्रै सत्य हो । सिद्धान्त, नैतिकता, इमान्दारी, विधिका कुरा बकवास हुन् । नेपाली लोकतन्त्रका चुनौती अनेक छन् तर चुनौतीको बिउ एउटै छ । अनेक चुनौतीहरूलाई एउटै भाँडोमा उमालेर निखार्ने हो भने छर्लङ्गै देखिन्छः सत्तालिप्सा र इमानको खडेरी ।

राजनीतिमा कोही किन लाग्छ ? सत्ता प्राप्त गर्न । जोकोही राजनीतिमा छ सत्ता प्राप्त गर्ने भोक सबैलाई लाग्छ । सत्ता प्राप्त गर्ने उद्देश्य फरक होलान् । कसैका उद्देश्य घिनलाग्दा होलान्, कसैका आशलाग्दा ।
राजनीति किन गर्ने ? शक्तिको दुरुपयोग नै अन्तिम औचित्य बनेको छ । पुरानादेखि नयाँ राजनीतिक दलका नेता हरकोहीमा सत्तालिप्साको डिग्री उस्तै छ । हरक्षण हरघडी भोक लागिरहनु रोग हो । जुन रोग नेपाली समाजमा महामारीझैं फैलिएको छ । मौका पाएसम्म हरकोही सत्ता र शक्तिका लागि लालायित छ । सत्ता र शक्तिमार्फत् नै बलवान÷पैसावाल बन्न खोज्ने यस समाजमा नागरिकदेखि सरकारसम्म इमान्दारी कहिँकतै भेटिदैन । नेता भन्छन्, जनताले बिगारे । जनता भन्छन्, नेताले बिगारे । जसले बिगारे पनि समाज बिग्रेको÷सडेको चैं सत्य हो ।

आजको नेपाली समाजको केन्द्रमा पैसा बसेको छ । हरकोही जसरी हुन्छ, पैसावाल हुन चाहन्छ । कुनै बच्चालाई सोध्नुस् त, पढेर के गर्ने, जानेर के गर्ने, खेलेर के गर्ने, लेखेर के गर्ने आदि इत्यादि । औसत जवाफ आउँछ– पैसा कमाउने । त्यसपछि सोध्नुस्, पैसा कमाएर के गर्ने । भौतिक सुविधाका जवाफबाहेक अर्को जवाफ अपेक्षा नराख्नुस् । यस्तो पुस्ता हुर्कदै छ । पैसाको रङ्गले कसैलाई फरक पार्दैन, त्यो कालो होस् वा सेतो । सत्ता र शक्ति प्राप्तिको केन्द्रमा पनि पैसा नै बसेको छ । किनकी यहाँ पैसाले भोट किन्न पाइन्छ, पैसामा भोट बेच्न पाइन्छ ।

यस्तो समाजको निर्माण गर्ने नेपाली राजनीतिज्ञहरूलाई केही सुझाउनु र नसुझाउनुको के अर्थ हुन्छ ? पैसा नै मुटुमा बसेको समाजमा आदर्शका कुरा वाहियात सुनिन्छ । नैतिक समाजको कल्पना ठट्टा सुनिन्छ कुनै जादु चलेन भने केही दिनमा प्रचण्डले संसदबाट विश्वासको मत गुमाउने निश्चित छ । तत्पश्चातका राजनीतिक मोलतोल, कानुनी दाउपेचहरूको दृश्य सम्झिँदै कहालीलाग्दो छ । लोकतन्त्र र शक्तिको दुरुपयोगको नमुना देखिने छ । अर्थतन्त्र रातारात सुधार्ने जादुको छडी कुनै पार्टीका मालिकसँग पनि छैन । भएजति पार्टीका मालिकहरूबाट छानेर हेरौं, को प्रधानमन्त्री भयो भने आलुप्याजको मुल्य घट्न सक्छ? जीवन खोज्दै विदेशिने नागरिकहरूको सङख्या घट्न सक्छ ? किसानहरूको अनुहारमा खुसी फुल्न सक्छ ? नागरिकलाई शिक्षा र नागरिकको स्वास्थ्यको ग्यारेन्टी हुन सक्छ ?

कोही त छैन । उनीहरू नागरिकलाई सकेजति फुँई लगाउछन् । नागरिक ध्यानले सुन्छन् र वर्षौंसम्म भ्रममै बस्छन् । फुँई लगाउनेहरूलाई राम्ररी थाहा छ कि जवान, स्वस्थ, शिक्षित, मिहिनेती नागरिक परदेशमा छ, यहाँ त उनीहरूकै कार्यकर्ता मात्रै छन् । बाँकी जे जति छन्, तीनलाई विभिन्न बहानामा ठेगान लगाउने लाइसेन्स उनीहरूसँग छँदै छ ।

प्रश्न त जनजनले आफैलाई पनि गर्नुपर्ने छः हामी कुनै पार्टीको कार्यकर्ता हौं कि विशुद्ध जनता हौं ? के हामी इमान्दार छौं ? के हामी अबिकाउ छौं ? के हामी नैतिकताको प्रश्न गर्न योग्य छौं ? होइन, छैन भने आफै विचार गरौं, बिगारा को हो, समाज सडाउने भाइरल नाइके को हो । लोकतन्त्रको जग भनेकै इमान्दार प्लस सचेत जनता हो । न हामी सचेत छौं, न त इमान्दार । लोकतन्त्रको यो हविगतको सतप्रतिशत श्रेय, हामी बेइमान एवम मदहोस नागरिक नै हौं ।

लिडर्सले समाजलाई सच्याउन सक्छ, सही दिशामा डो¥याउन सक्छ । दुर्भाग्य, हामीकहाँ कथित लिडर्स मात्रै छन् । नेतृत्व जिम्मेवारीसहित आउँछ । जिम्मेवारी वहन नगर्ने लिडर के को लिडर ? नेता नभएको देश हो नेपाल । नेपाली राजनीतिक दलका मालिक छन्, देशको नेता छैन । सम्माननीय एवम् माननीयहरूलाई रिस उठ्ला, माफ गरियोस् । तर यथार्थ यही हो । प्रतिज्ञा गर्ने तर गरेको प्रतिज्ञा पूरा नगर्ने कसरी लिडर हुन सक्छ ?

नेता÷कार्यकर्ता त नेपाली राजनीति अस्थिर हुनुको कारण नै जनता हो भन्छन्, सिधै सोध्छन् कि चुनावी जनादेश नै छरपस्ट छ त यहाँको राजनीति स्थिर कसरी हुन्छ ? हुन पनि हो, जनताले कसैलाई बहुमतको सरकार बनाउने आदेश नदिएपछि राजनीति अस्थिर हुन्छ नै । जनतालाई पनि मुस्किल छ । काम गर्ने कालु कोही छैन, सबै भालु छन् ।

भत्क्यो, सक्यो । अब ८४ को जनादेश कस्तो दिने ? यसको जवाफको जिम्मा नागरिकको कर्तव्य हो । जवाफ खोज्ने सन्दर्भमा राष्ट्रव्यापी सार्वजनिक बहसको टड्कारो आवश्यक्ता छ । यो बहस टोलटोलमा आवधिक रूपमा भैरहनुपर्छ । इमानी नागरिक लोकतन्त्रको जग हो ।

Leave A Reply

Your email address will not be published.